Friday, May 6, 2016

२९ - मेरो कथा (विक्रम सुब्बा)

मेरो मायाको रुमालमा कसैले
आफनो मतलबको फूल भर्‍यो
सग्लो मेरो मन भाँचेर
आफनो धून बजाउने बाँसुरी बनायो
मेरो सपनाको ऊनी धागो उधारेर
आफनोलागि न्यानो स्वीटर बुन्यो
मेरो इज्जतको लम्वाई समेटेर
आफनो घमण्डको पगरी बनायो
मेरो कविता लेख्ने कलम समाएर
मेरै मुस्कानलाई थुन्ने जेलको नक्सा बनायो
दुःखमा संगै बसी खिचेर टाँगेको हाम्रो तस्बिरलाई
भित्ता समाउंदै भुइँबाट उक्लेको चीसो ओसले छुन थाल्यो ।

मेरो छातीको ढुकढुकी निकालेर
आफनो घडीको समय दिने टिकटिके बनायो
मेरा हार्दिक र इमान्दार प्वाँखहरु लिएर
आफनो स्वार्थको घोडालाई बाइपङ्खी बनायो
मेरो धैर्यको ह्याकुला लिएर
आफनो कालो टाउको बिसाउने सिरानी बनायो
मेरो विश्वासको आरनमा हालेर
आफ्नो पित्तलको हृदयलाई सुन बनायो

मेरो भक्कानो फुटेर निस्केको गीतलाई
आफनो व्यक्तित्व टल्काउँने पालिस वनायो
हाम्रो तस्वीरको फलामे फ्रेमलाई
अदृश्य खियाले विस्तारै विस्तारै खान थाल्यो ।

मेरो हृदयको डुँगा खियाएर
आफ्नो लागि असला माछा मार्यो
मेरो आँखाको नर्सरीबाट उज्यालोको विरुवा उखेलेर
सम्वन्धको उपत्यकामा अँध्यारोको खेती गर्यो
उसलाई आफनै मुटु बनाएर राखेको अपराधमा
मलाई काटेर मबाट उसले आफुलाई वाहिर निकाल्यो
जमानाको अनुहारमा अनौठो रगत-आँसु पोतियो ।

यो कथा विस्तारै वातावरणमा फैलिएपछि
धमिलो भएको मानवीय मानचित्र सुस्त-सुस्त हल्लिरहृयो !

No comments:

Post a Comment