धेरै भयो शहरमा…
चप्पल जुत्ता पहिरेर मात्र
हिँडेको
र पाइतालाको धर्तीसँग सोझो
सम्पर्क टुटेको
गाडी चढेर मात्र यात्रा
गरेको
र बाटोसँग खुट्टाको सोझो सम्पर्क टुटेको
पाइपबाट आएको पानी खाएको
र धाराको सङलो पानीसँग
प्यासीको सोझो सम्पर्क टुटेको
धेरै भयो शहरमा…
धेरै भयो शहरमा…
प्लाष्टिकको फुलले बैठक
कोठा सजाएको
र जिउँदो फुलका धडकनसँग सोझो सम्पर्क टुटेको
नाकमा मास्क ओढेर हिँड्न
थालेको
र वतासको जवानीसित प्राणको सोझो सम्पर्क टुटेको
विदेशी गीत घरघरमा घुसेर बज्न थालेको
र मारुनीसँग पुर्सुन्नेको सोझो सम्पर्क छुटेको
गितारको झ्याङझ्याङ
झुङझुङमा हल्लिएको
र मादलसँग सोरठी भाकाको सोझो सम्पर्क टुटेको
काठको निर्जिव पुरानो
कुर्सिमा ड्युटी बासेको
र जमिनको उर्जासँग मुलाधार चक्रको सोझो सम्पर्क टुटेको
धेरै भयो शहरमा…
धेरै भयो शहरमा…
सेमिनार-सभा र कक्टेलका हिपोक्रेट सभाहरूमा भाग
लिएको
र जन्ती-मलामीका लस्करसँग सोझो सम्पर्क टुटेको
फोन र मोबाइलबाट दुनिया
संजाल बढाएको
र हितैसी छातीको न्यानो अँगालोसँग सोझो सम्पर्क टुटेको
कम्प्युटर हस्ते डिजिटल विश्वासका ई-मेलहरू
पठाएको
र हत्केलाहरूसँग प्रेमपत्रको सोझो सम्पर्क टुटेको
बाबुले छोरालाई र छोराले
आमालाई कचहरीमा नंग्याएको
र हृदयहरू जोड्ने रक्तनसाका हार्दिक जुइनाहरू
टुटेको
धेरै भयो शहरमा…
धेरै भयो शहरमा…
सिरिफ यायावरझैँ बाँचेको
जुलुसमा सँगै हिँड्ने
सहकर्मीसँग पनि
मनका नाराहरू भिन्नाभिन्नै
छन्
चिया पसलमा भेटिने छिमेकीको
पनि
भित्री मनका तरंगहरू आ-आफ्नै छन्
भट्टीका ग्लास-फ्रेण्डहरूसँग पनि
दोस्तीका कलेजाहरू हात
मिलाउँदैनन्
पार्टीमा भेट हुने दाजु-भाइका पनि
हेराहेर गर्ने आँखा पाकेर
रातापिरा भएका छन्
मास्टर-बेडरुमको कठघरामा
लोग्ने स्वास्नीको नियमित भेट त हुन्छ
तर ढुकढुकीको इजलासमा प्रितीको वहस चल्दैन
ऊफ ! यी आपसमा मन पटक्कै नमिले पनि
सँगै टाँस्सिएर बसेका घरैघरहरूको बेढंगे शहरमा
न मैत्रीका किटाणु नाशक किरण उदाउँदाछन्
न करुणाका कोपिलाहरू मुस्कुराउँदाछन्
न मुदिताको सुगन्ध
वातावरणमा मिसाउँदाछन्
तथापी, धेरै भयो यो खण्डहर-शाहरमा….
यमराजको निरंकुश जुँगा
विरुद्ध पनि
विक्रम सुब्बाले कविता लेखिरहेको
धेरै भयो यो शहरमा… धेरै भयो…
No comments:
Post a Comment