कांग्रेसका मानिस सब
खत्तम छन् भन म मानौँला
एमालेका मानिस सब
खत्तम छन् भन म मानौँला
माओवादीका मानिस सब
खत्तम छन् भन म मानौँला
राप्रपाका मानिस सब
खत्तम छन् भन म मानौँला
तर नेपालको बिरुद्ध खोक्यौ भने
तिम्रो टाउकोदेखि
पाइताला सम्म चिरिदिन्छु
मुलुकको प्रधानमन्त्री
खत्तम छ भन म मानौँला
मुलुकका मन्त्रीहरू सब
खत्तम छन भन म मानौँला
मन्त्रालयका ब्युरोक्रेट्सहरू सब
खत्तम छन भन म मानौँला
हरेक तहका अड्डाका कर्मचारी सब
खत्तम छन भन म मानौँला
तर नेपालको बिरुद्ध खोक्यौ भने
तिम्रो टाउकोदेखि
पाइताला सम्म चिरिदिन्छु
सर्वोच्च भनिने साँसदहरू
खत्तम छन भन म मानौँला
न्यायमूर्ति भनिने न्याधीसहरू
खत्तम छन भन म मानौँला
लोक सेवाका हाकिमहरू
खत्तम छन भन म मानौँला
योजना आयोगका सदश्यहरू
खत्तम छन भन म मानौँला
हर आयोगका आयुक्तहरू
खत्तम छन भन म मानौँला
अख्तियारका मठाधीशहरू
खत्तम छन भन म मानौँला
तर नेपालको बिरुद्ध खोक्यौ भने
तिम्रो टाउकोदेखि
पाइताला सम्म चिरिदिन्छु
सबै ठूला व्यापारीहरू
काला बजारी हुन भन म मानौँला
म्यान पावर कंपनीहरू लाखौँ
मानिसलाई लुटिरहेछन् भन म मानौँला
चोर-डाकाहरूलले शहरमा
गुण्डाराज चलाई रहेछन् भन म मानौँला
पेट्रोल पम्पका व्यापारीले
थोपाथोपा चोरी रहेछन् भन म मानौँला
होटल वालाहरुले, मरेको कुखुराको
मासु खुवाईरहेछन् भन म मानौँला
बलात्कारीहरूले दिउँसै युवतीलाई लुच्छ्दा
पुलिस चुपचाप छ भन म मानौँला
तर नेपालको बिरुद्ध खोक्यौ भने
तिम्रो टाउकोदेखि
पाइताला सम्म चिरिदिन्छु
यहाँ सिआइए घुसेर पार्टीहरूलाई
मनपरि उफार्छ भन म मानौँला
भारतको दुताबासले राजनितिज्ञहरू
खरीद गरेर मनपरि गर्छ भन म मानौँला
युरोपियन युनियनले, बाइबल
जताततै रोप्यो भन म मानौँला
विदेशीको विज्ञापनमा, मीडीया
विकेर हैरान छ भन म मानौँला
हिन्दु फण्डामेन्टालिष्टहरूले, नेपाल
हाम्रो मात्र हो भने भन म मानौँला
जनजाति र मधेशीलाई यहाँ
खसहरुले जहिले दले भन म मानौँला
तर नेपालको बिरुद्ध खोक्यौ भने
तिम्रो टाउकोदेखि
पाइताला सम्म चिरिदिन्छु
नयाँ-नौलो संबिधान च्यातेर
फाल्दिए हुन्छ भन म मानौँला
हरेक एकात्मी ऐनहरू जलाएर
खरानी पारे हुन्छ भन म मानौँला
संघीयताको नाममा, उही सामन्ती
विकेन्द्रीकरण भो भन म मानौँला
हरेक सरकारले, एकएकवटा
खोला बेचे भन म मानौँला
सिमान्तका मानिसलाई हेप्ने अन्यायीहरूकै
हालिमुहाली चलिरहेछ भन म मानौँला
तर नेपालको बिरुद्ध खोक्यौ भने
तिम्रो टाउकोदेखि
पाइताला सम्म चिरिदिन्छु
मन्दिरका पुजारीहरू
खत्तम छन् भन म मानौँला
पढाउँने प्रोफेशरहरू, बिकेर
खत्तम छन् भन म मानौँला
स्कुलका पसल खोल्नेहरू
खत्तम छन् भन म मानौँला
अस्पतालका डाक्टरहरू
खत्तम छन् भन म मानौँला
पाइलट र ड्राइभरहरू, अनैतिक र
खत्तम छन् भन म मानौँला
तर नेपालको बिरुद्ध खोक्यौ भने
तिम्रो टाउकोदेखि
पाइताला सम्म चिरिदिन्छु
मसँग अब केही छैन, नक्कली
मौलिक अधिकार बाहेक केही छैन
काम पाउँने अधिकारको ग्यारेण्टी छैन
यो सरकार मन परेन भन्ने अधिकार छैन
प्रदुशित खाना खान्न भन्ने अधिकार छैन
लुटिन-ठगिनबाट बच्ने अधिकार छैन
मेरो पहिचान लिम्बु हो भन्ने अधिकार छैन
मसँग अब सिरिफ ‘नेपाल’, भन्ने
केही नदिने र साझा हुन नसकेको
अमुर्त र सिल्ली एउटा पहिचान छ
खवरदार मेरो खोक्रो पहिचानको बिरुद्ध
खोक्यौ भने, तिम्रो टाउकोदेखि
पाइताला सम्म चिरिदिन्छु