भएर मात्र के गर्नु सजीव आँखाहरू?, जसले दुनिया
दुश्मन,
फुलकाँडा र तारामण्डल देख्छन्
तर मेरै
धैर्यशील छातीमा लिखित,
शान्तिका सुत्रहरू यिनले कहिल्यै सिकेनन्
शान्तिका सुत्रहरू यिनले कहिल्यै सिकेनन्
भएर मात्र के गर्नु चनाखा कानहरू?, जसले
सारा-सरगम-सिम्फोनी
श्रवण गर्छन्, तर
मेरै
रक्त-सागरमा उर्लिरहेका शान्ति-धुनका
रैथाने
लयहरू गाउँन कहिल्यै जानेनन्
भएर मात्र के गर्नु जोरनाले नाक पनि?, जसले
हरेक
वास्ना-खुश्वु सुँघ्न सक्छन्, तथापी
मैभित्र
क्षणक्षण भित्र-बाहिर गर्ने, अक्सिजन भित्रको
शान्ति-मोलिक्यूल
छानेर राख्न जानेनन्
भएर मात्र के गर्नु छोइ-जान्ने
छाला?, जसले सजिलै
आगो,
घाम, आमा र मायालुको स्पर्ष छुट्याउँछ
तर देउरालीमा
मुलुकको वतासले छुँदा, महसुस हुने
राष्ट्र-प्रेममा
निहित शान्ती छालाले टाँग्नै जानेन
भएर मात्र के गर्नु धारिलो जिव्रो पनि?, जसले
सन्सारका
स्वादहरु चिरफार गरेर पेश गर्छ
तर
चाटेर मेरै जिन्दगीको तीतो-पीरो-नुनीलोमा
साँदेको
शान्तीको अखण्ड-स्वाद छुट्याउँन जानेन
पाँचै
चेतनांगले जीउमै अड्डा जमाएर, मेरै
खुशहाली
खातिर दिनरात खटिरहेपनि
यो गृहस्तीको
भित्री-ढुकुटीमा शान्ति गायब छ, र त
ईन्स्टल
गर्नु पर्छ’रे वोधीवृक्ष मुनि बनेको
क्वान्टम-शान्तिको
जीपीएस एयाप्स, जुन
थिचेपछि
आफ्नै टचस्क्रीनमा देखिन्छ’रे, चार सत्य[1]
र
अष्टाङ्गी
मार्ग[2]चित्र,
जसलाई पछ्याउँदै गए
पुगिन्छ’रे
आफ्नो चित्तकै शान्ति-उत्पादन कारखाना, लौ लागौँ
निर्वाणको
अर्ग्यनिक-मुन्धुम गाउँदै – निजी चित्तम् शरणम् गच्छामी !
चार
सत्यम् शरणम् गच्छामी !! अष्टाङ्गी मार्गम् शरणम् गच्छामी !!!
[1]
चार सत्यः १। सन्सारमा दुःख (जन्म, चिन्ता,
बुढेसकाल, रोग र मृत्यू) छ; २। दुःखका कारण (असिमित इच्छा, अपेक्षा र चाहना) छन्; ३।
इच्छा-चाहना र अपेक्ष्याहरूलाई सुन्यमा झार्नु नै दुःख निरोध हो; ४। अष्टाङ्गी
मार्ग अपनाएर दुःखका स्रोतहरू हटाउँन सकिन्छ ।
[2]
अष्टांगी मार्गः १। सम्यक दृष्टि - दुःख (जन्म, चिन्ता, बुढेसकाल, रोग र मृत्यू) छ भन्ने कुरालाई स्वीकार्ने दृष्टिकोण; २। सम्यक संकल्प
– यसलाई सन्तुलित विचार र असल नियत पनि भनिन्छ जसका दुई तह छन् क) हिंशा नगर्नु,
अरु प्रति राम्रो सोच्नु सांसारिक तहको संकल्प हो भने ख) हरेक (सन्सार, जीवन) कुरा
अनित्य छन् भनेर सोच्नु सुक्ष्म संकल्प हो; ३। सम्यक वाचा (बोली) – झूठो नबोल्नु,
अहंकार नगर्नु, अपमान नगर्नु, अनावश्यक नबोल्नु; ४। सम्यक कर्म – हत्या नगर्नु,
चोरी नगर्नु, अनैतिक शारिरिक संबन्ध नराख्नु; ५। सम्यक आजीवा (जीवन गुजारा) – शोषण-दोहन
नगर्नु, चाहिने जत्ति (सम्पती र आवश्यक कुरा) मात्र जोड्नु, (भिक्षु भए) दैनिक
भिक्षाटन गरेर गुजारा गर्नु तर चाहिने भन्दा अधिक कसैसंग पनि नलिनु; ६। सम्यक
व्यायाम (प्रयास) – नरिसाउँने, आहरिस नगर्ने, सबैप्रति सकारात्मक सोच्ने; ७। सम्यक
स्मृती (विचार) – हरेक कुरालाई बढी या कम नगरी जस्तो छ तेस्तै हेर्नु र बुझ्नु ।
शरिरलाई शरिर र चित्तमा आएका भावनाहरुलाई भावनाकै रुपमा लिनु; ८। सम्यक समाधी (ध्यान)
– शरिरको कुनै ठाउँमा चिलाउँछ भने त्यसलाई ध्यान दिएर हेरिरहनु केही क्षणमा त्यो
सर्छ र हराउँछ । कुनै अंगमा दुखेको छ भने त्यसलाई ध्यान दिएर हुर्नु केही क्षणमा
त्यो सर्दैसर्दै हराउँछ । अर्थात हरेक कुरालाई ध्यान दिएर (नकारात्मक वा सकारात्मक
नसोचि) जे छ तेस्तै रुपमा हेरिरहनु र परिवर्तन हुँदै जाने प्रकृयालाई ध्यान दिएर
हेर्नु र जीवन पनि यसरी नै परिवर्तन हुँदै हुँदै एक दिन मृत्यूको चरण नाँघेर जान्छ
भनेर बुझ्नु ।