Saturday, January 21, 2017

५८ मुन्धुमको ‘म’ भेटिन्न कतै! (विक्रम सुब्बा)

‘मेरा’ पाइताला हिँडिरहेछन् तिमीलाई खोज्दै
उक्लिरहेछन् उकालीमा पनि ‘मेरा’ कदमहरू
डाँडा-पर्वत-चुचुरा चढिरहेछन्, अनेक
आन्दोलनमा हिनिरहेछन् ‘मेरा’ खुट्टाहरू, तर
यो ‘मेरा मेरा’ भन्ने मुन्धुमको ‘म’ भेटिन्न कतै !  

‘मेरा’ हात लेखिरहेछन् तिम्रो मायाका कविता
‘मेरा’ हात बजाइरहेछन् बाजा युद्धघोषका
उठिरहेछन् ‘मेरा’ हात मुट्ठी बनेर ईन्क्लाबका
उचालिरहेछन् विद्रोही झण्डा ‘मेरा’ हातले, तर
यो ‘मेरा मेरा’ भन्ने मुन्धुमको ‘म’ भेटिन्न कतै!

‘मेरो’ मन दंग पर्छ रोमान्चित मिलन सम्झेर
प्रफुल्ल हुन्छ ‘मेरो’ मन क्रान्ति-भावना उरालेर
भावुक हुन्छ मन ‘मेरो’ मुलुकको हालत सम्झेर
धुरुधुरु रुन्छ मन सम्झेर शहिदहरूको रगत, तर
यो ‘मेरो मेरो’ भन्ने मुन्धुमको ‘म’ देखिन्न कतै!

‘मेरा’ ओँठले चुमिरहेछन् तिम्रो निँधार र आँखाहरू
मुखले ‘मेरो’ भनिरहेछ हाम्रै मायाको मुन्दुम-कहानी
‘मेरो’ जिब्रोले चाखिरहेछ प्रणय-पृतांगका स्वाद
‘मेरो’ स्वर गाईरहेछ तिम्रो सौन्दर्यको सर्वाङ्गी गीत, तर
यो ‘मेरा मेरो’ भन्ने मुन्धुमको ‘म’ देखिन्न कतै!

‘मेरा’ आँखा लालायित छन् तिमी आउँने बाटो हेर्न
हेरिरहेछन् चण्डालका नृत्य पनि यिनै आँखाले
देखिरहेछन् ‘मेरा’ आँखाले गुण्डाराजको शासन
रोईरहेछन् ‘मेरा’ आँखा सिमाना मिचेको देखेर, तर
यो ‘मेरा मेरा’ भन्ने मुन्धुमको ‘म’ भेटिन्न कतै!

‘मेरो’ दिमाग सोचिरहेछ मायाको अजम्बरी कथा
रचिरहेछ मस्तिष्क ‘मेरो’ पुनरमिलनका उपायहरू
दिमागले ‘मेरो’ खिचिरहेछ तिम्रै तिलस्मी तस्विर
बसेकोछ ‘मेरो’ दिमागमा तिम्रै अंगका मानचित्र, तर
यो ‘मेरो मेरो’ भन्ने मुन्धुमको ‘म’ देखिन्न कतै!

‘मेरा’ मित्रहरू, आफन्तहरू, मायालुहरू
बितेका दिनहरू, भोगेका दुःखहरू ‘मेरा’
देखेका सपनाहरू, तिमीसँग घुमेका क्षणहरू
सँगै बसेर गरेका गफहरू, सुम्सुम्याएका स्पर्सहरू
सबै ‘मेरा’ अमुल्य वैभव-सम्पतीहरू, तिमी सर्वश्व मेरो,  तर 

यो ‘मेरा मेरा’ भन्ने मुन्धुमको ‘म’ भेटिन्न कतै!

Monday, January 16, 2017

५७ माया-मुन्धुम (विक्रम सुब्बा)

यो बुझ्नै कठीन ब्रम्हाण्ड-सेरोफेरोमा
हिजो जहाँ-जे-जे भयो ठिकै भएछ 
किनभने, हिजो पनि
अन्तरिक्षमा मेघ-माया बनेर, तिमीले
मेरो तन्तु-तन्तुमा प्रणय-पृत बर्सायौ,
र त तिम्रो न्यानो छातीको देउरालीदेखि
मेरो निँधारको तकदीरसम्म
उमंगका रंगीन ईन्द्रेणी टाँगेको हुँ

मायाले मात्र सबथोक जित्ने यो संसारमा
आज जहाँ-जे-जे हुँदैछ ठिकै भइरहेछ
किनभने, आज पनि
तिम्रो मायाका कंचन आत्मालाई
अंगालोको आत्मीय प्यालामा भरेर, मेरो
प्यासी हृदयको अधरले पिएपछि
पवित्र प्रेम-नशाले रमरम मातेको हुँ

भोगेरै मात्र बुझिने यो जिन्दगानीमा
भोलि जहाँ-जे-जे भएपनि ठिकै हुनेछ
किनभने, भोलि पनि  
तिम्रो र मेरो जोर मुटुकै पखेटा जडेर
आफ्नै माया-लोकबाट बैकुण्ठ-लोकतिर
बिन्दास उडानको कसम तर्जुमा गरेको हुँ

मातृ-रक्तकुण्डबाट नाइटो काटेपछि
आमाको न्यानो बात्सल्यमा हुर्केपछि
उमेरमा यौवनको मनसुन पसेपछि,
ढल्दो उमेरको बगैँचामा हराएको बेला
तिम्रो मायाको झरीमा बेस्सरी रुझेपछि
पत्तैबिना पागल-प्रेम-ज्वरोले कामेको हुँ
हाम्रै प्रेम-पिरतीको ढोल-ढ्याङ्ग्रो बजेपछि
नाच्दै-गाउँदै-बर्बराउँदै संसार बिर्सेर झुमेको हुँ

लिम्बुवानको रैथाने सिकुवामा आमाको गर्भबाट
रित्तो हत्केला फैलाएर उत्रेको हुँ, तर
भाँडाकुटी र डण्डीबियो खेल्दा खेल्दै
जन्मभूमिको गाउँ-बेँशी-धारा-पँधेरासँगै
देउराली-कुइनेटा-खोला-खोल्सी र फलैँचासँगै
गोदावरी जंगल र मंगल-बजारमा पुगेपछि, अनि
बेस्सरी तिमीलाई जितेपछि, खुशीयालीको
महाउत्सबमा तिम्रो अंगालोमै जाग्राम बसेको हुँ

तिमी यही धर्तीमा जन्मिने थाहा पाएर नै
हजार-स्वर्ग त्यागेर मर्त्यलोकमा जन्म लिएको हुँ
तिम्रा सुन्दर-सजीव नयनहरूले सिंगारेर, यहीँ
मायाको बेज्जोड-सानो शंखमुल-दरवार रचेको हुँ
जहाँ तिम्रा लाख अप्सरा-रुप सजाएको हुँ,
हाम्रो मायालाई ताजा नित्य-अजम्बरी राख्न
यहीँ ओछ्यानमा प्राङगारिक स्वर्ग रचेको हुँ

मरेर जाँदा यही गाउँ-घर-मानिसका
सम्झना-रुमालमा सिरिखुरी छोडेर
सतप्रतिशत रित्तो हात म जाने हुँ
तर मेरो मलिलो मुटुभरि फैलिएका
तिम्रो मायाका सहस्र जराबाट
आत्मा भई टुसाईरहने संकल्प गरेको हुँ

हरेक दिन तिम्रै मायाको अक्सिजनले
मेरो सासको दियो बालेर उज्यालो छरेको हुँ
तिमी रमाएको क्षण म धनवान भएको हुँ
तिम्रो मुख अँध्यारो हुँदा म कंगाल भएको हुँ
तिमी रिसाउँदा मैले चट्याङ-प्रहार खपेको हुँ
तिमी मुस्कुराउँदा खुशीको आकासगंगामा नुहाएको हुँ
आत्मा त कहिल्यै नमर्ने बिउ हो भन्छन् रानी !
जुनीजुनी हामी नै एकार्का निम्ती
गेणेशमन्दिर र बगलामुखी सेरोफेरोतिर कतै जन्म लिने
कसम तिम्रो चुम्बनमै घोलेर खाएको हुँ, र यहाँ
त्यही बोल-कबोल-बाचाको चार किल्ला बाँधेर
हाम्रो साक्खै मायामुन्धुम-मन्त्र गाएको हुँ,
मेरो रगतको नसानसामा छल्किरहने
मेरी हजुर्नी कान्छी ! तिमी
हामीलाई हमेसा जवान राख्ने, ओखती
हाम्रो रोमान्स जिन्दावाद !

५६ मनुष्य-मुन्धुम (विक्रम सुब्बा)

एउटा मनुष्य जन्म्यो, यही धर्तीमा त्यागी
मनुष्यत्व वाल्यकालपछि हिन्दु बन्यो, अनि
उसले आफुलाई सर्वश्रेष्ठ घोषित गर्‍यो
अर्को मनुष्य जन्म्यो, यही धर्तीमा त्यागी
मनुष्यत्व जवानीमा बन्यो ईसाई, अनि
उसले आफुलाई सर्वश्रेष्ठ घोषित गर्‍यो
एउटा मनुष्य जन्म्यो, यही धर्तीमा त्यागी
मनुष्यत्व एक दिन मुस्लीम बन्यो, अनि
उसले आफुलाई सर्वश्रेष्ठ घोषित गर्‍यो
अर्को मनुष्य जन्म्यो, यही धर्तीमा त्यागी
मनुष्यत्व अधवैँशमा बन्यो वौद्ध, अनि
उसले आफुलाई सर्वश्रेष्ठ घोषित गर्‍यो
दुनियामा जताततै युद्ध-अशान्ति फैलियो
कोलाहल-रक्तपात रोकी युद्धविराम गरेर
शान्तिवार्तामा सर्वश्रेष्ठहरूको कुरा चल्यो
सर्वश्रेष्ठ हिन्दुले अरुलाई अचाढु देखायो
अरुलाई सैतान भन्यो सर्वश्रेष्ठ ईसाईले
सर्वश्रेष्ठ मुस्लीमले अरुलाई बैमान भन्यो
वार्तामा पाएन प्रवेश वुद्धको शान्तिले
सर्वश्रेष्ठहरू झन बेस्सरी रन्किएपछि
जताततै अनेक संग्राम निरन्तर चल्यो
सकल सर्वश्रेष्ठहरू रहेसम्म धर्तीमा, नित्य
चलाई रणभूमिको गोरखधन्दा, सबले
कायम राख्ने भए श्रेष्ठ अहंकार आफ्नो!

Sunday, January 1, 2017

५५ कबुल-मुन्धुम (विक्रम सुब्बा)

आमाले रोजेको होइन,
गर्भमा आएपछि , आमाको
ममताले मन्जुर भएको हुँ ।

रोजेको होइन आमा-बा मैले
उनकै रक्त-जीव भै जन्मेपछि
सभ्यताको एक हिस्सा बनेको हुँ ।

यो जमिन रोजेको होइन
यही  माटोमा हुर्के-बढेपछि, मैले
मुलुकलाई धडकनमा गाँसेको हुँ ।

रोजेको होइन नाम, मेरो
आमाको ओँठबाट खस्दै गर्दा, थापेर
निशानी पहिचान बनाएको हुँ ।

दाजुभाइ, दिदीबहिनी, छिमेकी
कुनै पनि रोजेको होइन, मैले
गाँसी साइनो समाज बनाएको हुँ ।

मुटु, कलेजो, आँखा, नाकमुख, मैले
छालाको रंग पनि रोजेको होइन
‘म’मै फले-फुलेकोले स्वीकारेको हुँ ।

जाति-सँस्कृति मेरो भाषाभेष
छानेर मैले रोजेको होइन
पूर्खाले बुनेकै मुन्धुम पहिरेको हुँ ।

बाल्य काल, अल्लारे जवानी
तरुनी हेर्ने मन रोजेको होइन, मैले
हर्मोनको चलखेलमा हारेको हुँ ।

गालामा चाउरी, थोते बोली, रोजेको
होइन परलोक पनि, आफ्नै कविताको
अन्तिम हरफ पढी विदा कबुल गरेको हुँ ।
(January 1, 2017)