Sunday, October 28, 2018

७० कथा जुजु माईलाको


जुजु माईलो मुल्याहा जन्म्यो, र
पिताश्रीभन्दा पहिले श्रीपेच ओढ्यो
राजगद्धीमै खेल्यो रमायो सुत्यो

जुजु माईलो मुल्याहा जवान भयो, र
तीन शहरमा मुल्यवान मूर्ति र राम्री केटीको
दरावरीया खोपीमा हुल्यो जवानी लुट्यो

जुजु माईला मुल्याहा व्यापारी बन्यो, र
लगानी बिनै अनेक धन्दाहरूले
मालिक-नाफाखोर बनेर बैभव कमायो

जुजु माईला मुल्याहाको दुष्ट मन जाग्यो, र
आफ्नो ठुल्दाईका सन्तानको कोत पर्व रचेर
श्रीपेच ओढेर राजदण्ड फेरि समायो

जुजु माईला मुल्याहा कालो चस्मा, र
छत्रे टोपीमा गाउँ-शहरतिर फूलमाला
सलाम-ढोग-दण्डवत थाप्दै डुल्यो

जुजु माईला मुल्याहाले भारदारी मण्डल, र
रावण पुत्रलाई युवराज घोषित गर्दै
मुलुकलाई पुन: कैदी  शासनमा हुल्यो

जुजु माईला मुल्याहाको खटनपटन, र
अचाढु थिचोमिचो अतिचार, खप्न नसकेर
गाउँ-टोल-शहरमा ईन्क्लावी जनता जाग्यो

जुजु माईला मुल्याहाका खुँखार बन्दुकले घेरेको
सामन्ती राजसी किल्ला जनसागरले घेरेपछि
श्रीपेच फालिराखेर नांगो शिर दर्वारबाट भाग्यो

जुजु माईला मुल्याहा अचेल, ह्वीस्की खाँदै
कम्प्युटरमा तासको जोखाना हेर्दै
तासकै ‘सत्ता’ पल्टाउँने खेल खेलिरहेछ

मुल्याहा माईलाको भूमिकामा नयाँ बुख्याँचा जुजु पनि
नाटकमा कसैले लेखेको स्क्रिप्ट कण्ठस्त गरी
दर्शकलाई उटपट्यांग ‘डाइलग’ बोलिरहेछ

जुजु माईलालाई ठकुरी माईलो अचेल भन्छन्, जनता
दरबारको सिंह, हेर्दाहेर्दै छुचुन्द्रो बनेको ठान्छन्
कुबुध्दिले राजपाठ गुमेको जिउँदो प्रमाण देखिरहेछन्
नयाँ जुजुहरू उम्रिँदै तीनपाते भएर बौलाईसके
जुजु माईला मुल्याहालाई गद्दीबाट लखेट्ने नजता, नयाँ
जुजु बुख्याँचाका काला कर्तुतको एकएक हिसाब लेखिरहेछन् ।
------ ------ -------
जुजु; नेवारी भाषामा जुजु भनेको १। ‘राजा’,र २। आफ्नो सानो छोरालाई लाड-प्यारमा भनिने ‘राजा’ पनि हुन्छ ।

(23 October 2018, Sangkhamul, Kathmandu)

६९ नाहेन



एक्लो छोरो म जन्मेर, मैले
आमाको भरपुर माया पाएपछि
हृष्टपुष्ट बलियो र ज्ञानी भएको देखेर
गाउँ-छिमेकमा अनेक आमाहरू जले

गाउँभरीमा मैले स्कुल पढेँ, र म
अक्षर चिनेर ज्ञानगुनको सन्सार पसेँ
कुरा बुझ्ने भएपछि गाउँमा सामन्ती प्रथाका
भ्रमजालहरू च्यातेर बोल्न थालेको देखेर
परम्परागत गाउँले ठालुहरु जले

गायत्रीमन्त्रको छन्दमा जस्तो
हिन्दु देवी देउताका कविता लेख्ने
कविहरूका वीचमा मैले, गद्य कवितामा
आफ्नै गाउँलेका दु:ख र सामन्ती शोषण विरुध्द
कविता लेखेको देखेर भाट कविहरू जले

अनेक जात र जात अनुसारको संहितामा चल्ने
यो पुरातन-पन्थी सामन्ती भाग्यवादी समाजमा
म लिम्बूले बाहुनी गर्लफ्रेण्ड बनाएर हिँडेको देखेर
लाठे बाहुनहरू ‘हमी मर्‍या थियौँ?’ भन्दै जले

आफ्नै पौरखले र बैँकको महंगो ब्याज तिरेर
काठमाण्डूमा मैले घर बनाएको देखेर
‘यो खेँचा हाम्रो गाउँमा घर बनाएर फूर्ति गर्ने?’ भन्दै
वरिपरिका सेँठ साहुजीहरू पनि जले

मेरो आयमा बैँक पत्याएकोले
गाडी लिएर काठमाण्डू डुलेको देखेर
समवयी मेरै दोस्तहरू मरुन्जेल जले

मैले कमाउदार राम्री दोस्रो श्रीमती
बिहे गरेको देख्नेहरू पनि जले
मेरा छोराछोरीले विदेश पढेको देखेर
अफिसका सहकर्मीहरू जले
मेरा सन्तानहरूले विदेशको
ग्रीन कार्ड र नागरिकता पाएकोमा जले
गरेर लगानी त्यसको डिबीडेण्टले बुढेसकालमा
सुखको जीवन बिताएको देखेर कोही जलिरहेछन्
अब, म एक दिन हाँसिहाँसि मर्नेछु
त्यो देखेर पनि अनेक मानिस जल्नेछन्
मैले लेखेर छोडेका कविता पढेर जल्नेछन्
मेरो जीवनी पढेर पनि जल्नेछन्
दीयो भएर बल्न नसक्ने तर जलिरहनेहरू
जे देखे पनि जल्नेछन्, जे सुने पनि जल्नेछन्
स्वर्ग-नर्क-बैकुण्ठ जहाँ पुगे पनि जल्नेछन्
ब्राम्हण, क्षेत्री भएर जन्मे पनि जल्नेछन्
राजा-महाराजा भएर जन्मे पनि जल्नेछन्
यी जलनशीलहरूलाई छिनछिनमा जलाई रहुँ, र
तिनकै खरानीले तिनकै मनमस्तिस्कमा
यो सुन्दर मुलुकको एक नक्सा लेखौँ !

19 October  2018, Sangkhamul, Kathmandu, Nepal

६८ ध्वस्त पहिचान

काखमा आमाले 
तँ ‘याकथुङबा’ होस् भनिन्
छिमेकी बाहुनहरूले, तिमी
‘लिम्बू-सुब्बा-जिम्मावाल’ भने
स्कूलमा माष्टरले, तिमी लिच्छवी, र
ठकुरी राजासँग हारेको ‘किराती’ भने
मानव अधिकारवादीले
तिमी सिरिफ ‘मनाव’ भने
शाह वंशीय शासनदेखि नै सरकारले
तँ केवल रैती होस् भन्दै आए
कांग्रेसको सरकारले, तँ रैतीबाट
जनता भइस् भोट हाल् भन्यो
अहिलेको जुका सरकारले, तँ
तहतहमा चुसिने रगत होस् भनिरहेछ
आन्दोलनले तैँले नागरिक हुन
अझै युध्द लड्नु र जित्नु पर्छ भनिरहेछ
DNA चेकजाँच गरे, नतिजाले
कुन Haplogroup समुहको भन्ला?
यहाँ हरेक जातिको पहिचानसँगै, देशकै
पहिचानको भाष्य पनि ध्वस्त भा'छ
आज मेरी नातिनीले सोधी –
बाजे, नेपालको पहिचान के हो?
जवाफमा मुलुकको पहिचान, मेरो
आँखाबाट टुहुरो थोपा बनेर खस्यो
अरुको पहिचान मास्नेले, सिंगै
मुलुकको पहिचान नै मास्दा रै'छन् ।

६७ साम्माङ हाँस्यो



खस-आर्यले बोल्ने खस कुरामा -
तँ छ, तिमी छ, तपाइँ छ, श्रीमान छ,
(हाकिम) साहाब छ, (अध्यक्ष) ज्यू छ,
महाशय छ, जो आदेश छ, भवदीय छ,
हजुर छ, माननीय छ, सम्माननीय छ,
सरकार छ, परमाधिपती छ, मौसुफ छ,
बडामहाराजधिराज छ, महाराजधिराज छ,
बडामहारानी छ, युवराजधिराज छ, युवराज्ञी छ
अधिराजकुमार छ, अधिराजकुमारी छ,
गुरुजी छ, गुरुआमा छ, पण्डित जी छ
खस-आर्य समाजमा सोच जस्तो छ , तेस्तै
वर्गैवर्ग अनुसार अनेक सर्वनाम छ
सर्वनाम अनुसार तहतहको ढोगभेट सलाम
दण्डवत-नमस्कार लम्पसार चाकडी छ

याद रहोस् -
लिम्बू कुरामा यसरी वर्ग छुट्याउँने सर्वनाम छैन
किनभने, लिम्बू समाजमा वर्ग थिएन र छैन
तसर्थ, लिम्बू समाजमा रैथाने समाजवाद छ, अचम्म
वर्गैवर्गको सोच बोकेको असमावेसी खस-आर्यले
लिम्बू गाउँमा पसेर समानता र समाजवाद सिकाईरहेछ
यो विपर्यास देखेर साम्माङलाई हाँस उठिरहेछ
विचार चोके ! विचार चोके !! विचार चोके !!!





६६ हड्डी



यो हड्डीलाई किरात कालमा
बत्तिस पुस्ताका राजाले बेस्सरी चुसे
तेतिबेला जनता आधापेट सुते

मगधबाट आएका लिच्छवीले
छ सय तीस वर्ष धारिला दाँतमुखले
किरातहरूबाट खोसेर बेस्सरी हड्डी चुसे
तेतिबेला जनता चाहीँ रोग ग्रस्त सुते

खोसेर लिच्छवीहरू नै मल्ल बनेर
यो हड्डीलाई पाँच सय ६८ वर्ष चुसे
तेतिबेला पनि जनता अँध्यारोमै सुते

गोर्खाको खुइले डाँडाका ठकुरीहरूले
(राणाले १०४ वर्ष ठकुरीहरूलाई थुने पनि)
यो हड्डीलाई दुइ सय ४० वर्ष चुसे
तेतिबेला जनता छानाबिनाको घरमा सुते

त्यसपछि गाउँगाउँका सामन्त पञ्चले
यो हड्डीलाई राजाको हुकुम मुताबिक
तीस वर्ष सम्म राजाको छत्र-छायाँमा चुसे
जनताका छोरीबुहारी डरले काम्दै सुते

अनि, कांग्रेसले यो हड्डीलाई चुसे
पञ्च र कम्निष्ट मिलेर यो हड्डीलाई चुसे
प्रजातन्त्र र विकास भन्दै यो हड्डी चुसे
जनता समाजवादको सपना खाएर सुते

अहिले, भारतको ईसारामा नाच्ने
कम्निष्ट र भारतका व्यापारीले
यो हड्डीलाई दिनरात चुसिरहेछन्
जनता महंगीको ओछ्यानमा सुतिरहेछन्

यो मुलुक, कुकुरहरूलाई हड्डी मात्र हो
थरिथरिका कुकुरले सँधै चुस्ने सिरिफ हड्डी
धन्य छ यो हड्डी, हरेक हड्डी चुसकका निम्ती
स्वादिलो रगतको स्वादको भ्रम दिन्छ यो हड्डी
खासमा सबले चुसेर स्वाद निख्रिसकेको
स्वाद, गन्ध र रंगहिन हड्डी भा'छ यो मुलुक ।

(अक्टोबर १५, २०१८)

Sunday, September 16, 2018

६५ भेट


तिम्रो मनमा खोज, त्यहीँ भेट्नेछौ
सम्झना-पन्नाहरू पढ, त्यहीँ देख्नेछौ
स्वासका गती छाम, त्यहीँ छुनेछौ

नित्य संवेदनामै भेटेर,  दंग पर्नेछौ


गाऊ गीत त्यहाँ, लय बनी लहराउँनेछ

कवितामा तिम्रो भाव बनेर छाउँनेछ

आकास पनि, घामको न्यानो हाँस्नेछ

तिम्रो बगैँचामा  फूल बनेर उदाउँनेछ


धडकन सुन, दंग-फुरुङ्ग भइ झँगिनेछ  

जिन्दगीको अँधा्यारोमा जूनझैँ टाँगिनेछ

नुनीलो आँशुमा पनि प्रणय-पृत चाख्नेछौ

खुशीमा मेरै प्रेम-तरंगले तिमी नाच्नेछौ ।

(26 August 2018, Sangkhamul, Kathmandu)

Thursday, February 8, 2018

६४ मर्न बिर्सन्छु ! (विक्रम सुब्बा)

उसलाई देख्नु मात्र पर्छ म सन्सार बिर्सन्छु
उसलाई छुनु मात्र पर्छ म सन्सार बिर्सन्छु
हामी सँगै हुनु मात्र पर्छ म सन्सार बिर्सन्छु
प्यारी नाओमीले छुँदा म सन्सार बिर्सन्छु !

उसको आँखै जून हो र त आकाश बिर्सन्छु
उसको मुस्कानै फुल हो र बगैँचा बिर्सन्छु
उसको अंगालो दौलत र सुनचाँदी बिर्सन्छु
प्यारी नाओमीले हाँस्दा म सन्सार बिर्सन्छु

उ नै स्वर्वश्व र त नेपाल-अमेरिका बिर्सन्छु
उ नै मेरो ढुकढुकी र त गीत-संगीत बिर्सन्छु
उ नयाँ जीन-फूल म त पात झरेको बिर्सन्छु
प्यारी नाओमी खेलेको हेर्दा सन्सार बिर्सन्छु

उ निक्खुर वंश-काव्य अरु कविता बिर्सन्छु
उ नै ब्रम्हाण्ड दुनिया हल्ला रमिता बिर्सन्छु
उ भित्रै बाँचिरैछु तसर्थ अब कतै सर्न बिर्सन्छु
नाओमीले ‘लवयू बाजे’ भन्दा म मर्न बिर्सन्छु !



(जनवरी २९, २०१८, मेरी नातिनी नाओमी-नूमा जनवरी ६, २०१८ मा उसको बा द्रोणविक्रम ईङवाबा र उसकी आमा ज्यासमीन ईङवामासँग नेपाल आएर हामीसँग बसि फेब्रुअरी ६, २०१८ मा अमेरिका फर्कि । नातिनीको मायाले मलाई अनौठो किसिमले गाँज्य र कविता लेखेँ ।)