Sunday, October 28, 2018

६९ नाहेन



एक्लो छोरो म जन्मेर, मैले
आमाको भरपुर माया पाएपछि
हृष्टपुष्ट बलियो र ज्ञानी भएको देखेर
गाउँ-छिमेकमा अनेक आमाहरू जले

गाउँभरीमा मैले स्कुल पढेँ, र म
अक्षर चिनेर ज्ञानगुनको सन्सार पसेँ
कुरा बुझ्ने भएपछि गाउँमा सामन्ती प्रथाका
भ्रमजालहरू च्यातेर बोल्न थालेको देखेर
परम्परागत गाउँले ठालुहरु जले

गायत्रीमन्त्रको छन्दमा जस्तो
हिन्दु देवी देउताका कविता लेख्ने
कविहरूका वीचमा मैले, गद्य कवितामा
आफ्नै गाउँलेका दु:ख र सामन्ती शोषण विरुध्द
कविता लेखेको देखेर भाट कविहरू जले

अनेक जात र जात अनुसारको संहितामा चल्ने
यो पुरातन-पन्थी सामन्ती भाग्यवादी समाजमा
म लिम्बूले बाहुनी गर्लफ्रेण्ड बनाएर हिँडेको देखेर
लाठे बाहुनहरू ‘हमी मर्‍या थियौँ?’ भन्दै जले

आफ्नै पौरखले र बैँकको महंगो ब्याज तिरेर
काठमाण्डूमा मैले घर बनाएको देखेर
‘यो खेँचा हाम्रो गाउँमा घर बनाएर फूर्ति गर्ने?’ भन्दै
वरिपरिका सेँठ साहुजीहरू पनि जले

मेरो आयमा बैँक पत्याएकोले
गाडी लिएर काठमाण्डू डुलेको देखेर
समवयी मेरै दोस्तहरू मरुन्जेल जले

मैले कमाउदार राम्री दोस्रो श्रीमती
बिहे गरेको देख्नेहरू पनि जले
मेरा छोराछोरीले विदेश पढेको देखेर
अफिसका सहकर्मीहरू जले
मेरा सन्तानहरूले विदेशको
ग्रीन कार्ड र नागरिकता पाएकोमा जले
गरेर लगानी त्यसको डिबीडेण्टले बुढेसकालमा
सुखको जीवन बिताएको देखेर कोही जलिरहेछन्
अब, म एक दिन हाँसिहाँसि मर्नेछु
त्यो देखेर पनि अनेक मानिस जल्नेछन्
मैले लेखेर छोडेका कविता पढेर जल्नेछन्
मेरो जीवनी पढेर पनि जल्नेछन्
दीयो भएर बल्न नसक्ने तर जलिरहनेहरू
जे देखे पनि जल्नेछन्, जे सुने पनि जल्नेछन्
स्वर्ग-नर्क-बैकुण्ठ जहाँ पुगे पनि जल्नेछन्
ब्राम्हण, क्षेत्री भएर जन्मे पनि जल्नेछन्
राजा-महाराजा भएर जन्मे पनि जल्नेछन्
यी जलनशीलहरूलाई छिनछिनमा जलाई रहुँ, र
तिनकै खरानीले तिनकै मनमस्तिस्कमा
यो सुन्दर मुलुकको एक नक्सा लेखौँ !

19 October  2018, Sangkhamul, Kathmandu, Nepal

No comments:

Post a Comment