Sunday, February 19, 2017

६० के घमण्ड गर्छौ? (विक्रम सुब्बा)

परेलाले झिम्झिम् गर्दा, त्यो नाथे
भुत्लाको चाल त रोक्न सक्दैनौ
नाकको प्वाल चिलाउँदा, औँला
नघुसारी बस्न त सक्दैनौ
झर्न थाले दुइ थोपा, आँशु पनि
रोकेर राख्न सक्ने तागत छैन
यति कमजोर नाथे तिमी
किन यति घमण्ड गर्छौ?

भोक लागेको रोक्न सक्दैनौ
तिर्खा लागेको खप्न सक्दैनौ
पिसाब लागेको रोक्न सक्दैनौ
दिशा लागे छेक्न सक्दैनौ, तिमी
यति कमजोर मुलाङ्खरे तर पनि
किन तिमी यति घमण्ड गर्छौ?

खैनीको तलतल थाम्न सक्दैनौ
रक्सी खाने चाहना रोक्न सक्दैनौ
बिलिनो भए एक फित्को नुन
तरकारीमा नहाली खान सक्दैनौ
साथीहरूको प्रगती देखेर, पोल्ने
ईर्श्यालाई थाम्थुम गर्न पनि सक्दैनौ
आफैभित्रको चन्चले मनसँग हार्ने
तिमी किन यति घमण्ड गर्छौ?

निँद्रा लागे रोक्न सक्दैनौ
कुतकुति लागे हाँसो थाम्न सक्दैनौ, मूर्ख
रिस उठे पनि थाम्न सक्दैनौ, आफ्नो
कलकलाउँदो जवानी रोकेर राख्न सक्दैनौ
आफैसँग सँधै हार्ने "हरुवा" तिमी बजिया
किन घिनलाग्दो घमण्ड गर्छौ?
February 19, 2017

Monday, February 13, 2017

५९ रातो गुलाफ (विक्रम सुब्बा)

तिमीले दिएको रातो गुलाफ सुकेर गयो
जिन्दगीको सिउँदोमा सिन्दुर हालेर गयो
तिमीले दिएको रातो गुलाफ नांगो थियो
उदांगो खुशीमा प्रेमको पर्दा हालेर गयो

तिमीले दिएको रातो गुलाफ केही बोलेन
चुपचाप वतासमा प्रेम गीतहरू भरेर गयो
तिमीले दिएको रातो गुलाफको आँखा थिएन
इसारामै तिम्रो दरवारको बाटो देखाएर गयो

तिमीले दिएको रातो गुलाफको मुटु थिएन
कसरी हो हाम्रो मायामा धढकन घोलेर गयो
तिमीले दिएको रातो गुलाफको सपना थिएन
हाम्रो विपनीको सुन्दर नक्सा कोरेर गयो

तिमीले दिएको रातो गुलाफको ओँठ थिएन
चुम्बनले यो गरीबको  ढुकुटी नै भरेर गयो
तिमीले दिएको रातो गुलाफको हात थिएन
भरोसाको बलियो आलिङगन दिएर गयो

तिमीले दिएको रातो गुलाफमा मन्दिर थिएन
हेर्दा हेर्दै मायाको अलौकिक देवी दिएर गयो
तिमीले दिएको रातो गुलाफमा रगत थिएन
नबोली मायामा अजम्बरी आत्मा भरेर गयो

तिमीले दिएको रातो गुलाफ, गुलाफ मात्र देखे
त्यसले मायाको एक स्वर्ग रचेको कसैले देखेन
तिमीले दिएको रातो गुलाफ कतै छैन अहिले
मेरा अंग-प्रत्यंगमा उमंग भरेको कसैले देखेन

तिमीले दिएको रातो गुलाफ, फुल मात्र कहाँ हो र
त्यसले भित्र दुइआत्मा जोडेको कोही देख्नै सक्दैन
तिमीले दिएको गुलाफ, कति महान रहेछ, रातो
गुलाफले बाहेक हाम्रो प्रेमकथा अरुले लेख्नै सक्दैन ।
                                                 (February 12, 2017)