Sunday, July 28, 2019

७६ सत्ताधारी सोच


हिटलरले मै ठीक भन्यो
र, करोडौँ मानिस मार्‍यो
मुसोलिनीले पनि मै ठीक भन्यो
अशोक राजाले पनि मै ठीक भन्यो
लाखौँ मारेर बुद्धिष्ट बन्यो
पृथ्वीनारायणले मै ठीक भन्दै कति मार्‍यो
जंगबहादुरले कति हत्या गर्‍यो
र पनि १०४ वर्ष राणा शासन चल्यो
महेन्द्रीय पञ्चायतले कति मार्यो ३० वर्षमा
प्रचण्डले १७ हजार मारेर मै ठीक भनिरहेछ
ओली पनि प्रचण्डसँगै मिस्सिएको छ
ईतिहासमा सत्ताधरीले, कहिल्यै
आफुले गल्ती गरेँ' भन्दैन
ईतिहासले उसलाई सिरिफ चुपचाप
सजाय दिन उखेलेर फाल्दिन्छ ।

७५ मेरो संबिधान


जतिसुकै राम्रो वाक्यमा कानुन लेख, मेरा खातिर
मेरो सांस्कृतिक नियमभन्दा असल हुन सक्दैन
जतिसुकै नयाँ र सुरीलो राष्ट्र गान गाउ, मेरा निम्ती
मेरै हाक्पाराभन्दा त्यो सुमधुर हुन सक्दैन
जतिसुकै देशभक्तीको प्रवचन-भाषण ठोक
मेरो लिम्बूवानको गाथाभन्दा महान हुन सक्दैन
जतिसुकै ठूलो संबिधान लेख, मेरा लागी
मेरो मुन्धुमभन्दा त्यो ठूलो हुन सक्दैन
जतिसुकै राष्ट्रियताको भूगोल देखाउ
मेरो जातियता नमिसाई यो राष्ट्र बन्न सक्दैन
याद राख, म तिमी हामी सबै देशकै अंग हौँ
मलाई छुट्याएपछि अपाङ्ग मुलुक पूर्ण हुन सक्दैन ।

Friday, July 12, 2019

७४ हतियार


हात थियो
हातमा लौरो बन्यो
लौरोबाट तरबार बन्यो
तरबारबाट तीर बन्यो
तीरबाट बन्दुक बन्यो
बन्दुकबाट एटम बम बन्यो
न्यूक्लियर बम बन्यो, तर
यी सबै मानिस भित्रको
सोचको परिणाम हुन्
सबैभन्दा खतरनाक सोच
सबैभन्दा खतरनाक हतियार रहेसम्म
अनेक खतरनाक हतियार जन्मिरहनेछन् !

Thursday, July 4, 2019

७३ साम्माङ शास्त्र (विक्रम सुब्बा)

आँखाले सबथोक हेर्छ, आफैलाई देख्दैन
कानले अनेक दु:ख सुन्छ, आफ्नै दु:ख सुन्दैन
नाकले गन्ध सुँघ्छ, आफ्नै पिनासको दुर्गन्ध चाल पाउँदैन
जिब्रोले सबथोक चाख्छ, आफ्नै स्वाद बुझ्दैन
छालाले हरेक मौसम चिन्छ, आफ्नै तापक्रम जान्दैन
चित्तसँग मिलेर, आँखाले नै आँखालाई हर्नु
वुध्दिसँग मिलेर, कानले नै कानलाई सुन्नु
मनसँग मिलेर, नाकले नै नाकलाई सुँघ्नु
ज्ञानसँग मिलेर, जिब्रोले नै जिब्रोलाई चाख्नु
चेतनासँग मिलेर, छालाले नै छालालाई छाम्नु
यसरी हरेक अंगहरू आफै भित्र पसेर
आफैलाई जान्ने निष्पक्ष दार्शनिक हुनु
एकदिन आउँनेछ -
किसान आफैले आफुलाई हेर्नेछन्
मजदुर आफैले आफुलाई पढ्नेछन्
कवि‍कलाकारले आफैले आफुलाई लेख्नेछन्
गायक आफैले आफ्नो गीत गाउँनेछन्
प्रशासक आफैले आफुलाई शासन गर्नेछन्
वुध्दिजिवी आफैले आफुलाई ज्ञानी बनाउनेछन्
व्यापारी आफैले कालो बजार ध्वस्त गर्नेछन्
प्राविधीकले संहारक प्रविधी निर्माण बन्द गर्नेछन्
त्यसपछि हरेक मानिस दार्शनिक हुनेछन्
आ-आफ्नै दर्शन शास्त्रले मार्ग दर्शन गर्नेछन्
आततायी फटाहाका हुकुमहरू नकारिनेछन्
बस्, यही हो चाहिएको समानतावाद, अझ
सबैले खोजेको समतावाद - जिन्दावाद !

Thursday, June 20, 2019

७२ एक दिन (विक्रम सुब्बा)

आउँनेछ जिन्दगीमा एक दिन
तातो आँशु आफै झर्ने दिन
थामिनसक्नु भक्कानिने दिन
आँशु सिद्धिने तर रुन नसिद्धिने दिन
आउँनेछ जिन्दगीमा एक दिन

आउँनेछ जिन्दगीमा एक दिन
आमा-ममता सम्झी गंभीर हुने दिन
मायालु सम्झेर टोलाउँने दिन
साथीहरूको भावुक यादको दिन
आउँनेछ जिन्दगीमा एक दिन

आउँनेछ जिन्दगीमा एक दिन
बालबच्चाले घरै खालि छोडेको दिन
सुनसान घरले तर्साउँने दिन
एक्लोपनमा नै खुशी खोज्ने दिन
बिनासहारै जिउँने साहसिलो दिन
दुःख नमानी दुनियाबाट जाने दिन
आउँनेछ जिन्दगीमा एक दिन
त्यसपछि कहिल्यै नआउँने दिन !

(5 June 2019)

७१ जेनेटिक कविता (विक्रम सुब्बा)


'यो बाहुन हो, यो जनजाति हो' भन्ने
भुत्लालाई कसरी थाहा भयो, र
बाहुनको जिउमा झ्याप्प झ्याप्प भुत्ला
तेही भुत्ला जनजाति जिउमा कतै कताकता?

'यो बाहुन हो, यो जनजाति हो' भन्ने
लठुवा नाकलाई कसरी थाहा भयो, र
बाहुनको अनुहारमा चुच्चो बनिे उछिट्टिएको?
तेही नाक जनजातिको किन अकबरे परेको?

'यो बाहुन हो, यो जनजाति हो' भन्ने
आँखालाई कसरी थाहा भयो, र
बाहुनकोमा आँखा डल्लो खुलेको फराकिलो
जनजातिकोमा आँखा किन चिम्सिएर सुकेको?

'यो बाहुन हो, यो जनजाति हो' भन्ने
गिदीलाई कसरी थाहा भयो, र
बाहुनको खप्परमा पस्नासाथ खुराफाती बेसरी
जनजातिको टाउकोमा त्यै गिदी सोझो कसरी?

कुनै कुने प्रश्नको जवाफ रगतको शास्त्रमा
खोज्दै भित्र पसेर जीन-जीन जाँच्नु पर्छ
सबै हामी सपाट मानिसै हौँ भन्नु सत्य-भ्रम हो
फरक डीएनएहरूलाई अमुल्य बैभव मानी साँच्नु पर्छ ।
(20 June 2019)