Monday, May 16, 2016

५३ - बेइमान इमान (सूक्ष्मकाव्य) - विक्रम सुब्बा

       सपनाको कात्रो खोलिरह्यौ
       इमानले चुपचाप छोपिरहेँं
       फललाई तिमीले टोकिसकेछौ
       बिरुवा वागमा रोपिरहेंँ!

       इमानमा हिलो छ्यापिरह्यौ
       आँसुले दागलाई मेटिरहेँं
       गीतलाई तिमीले बाँधिसकेछौ
       सारङ्गी मात्र म रेटिरहेंँ!

       'गाउँदै जा,' मलाई भनिरह्यौ
       चिरेर छाती गाइरहेंँ
       छलेर हरिताल हालिसकेछौ
       पञ्चामृत ठानी खाइरहेँ!
        
       घाउमा पलपल घोचिरह्यौ
       किटेर दाह्रा म खपिरहेँं
       रगतको होली खेलिसकेछौ
       आँसुको अबीर म थपिरहेंँ!
        
       बाटोमा काँडा छरिरह्यौ
       अञ्जान पाइताला टेकिरहेंँ
       संगीनले छाती रोपिसकेछौ 
       कविता शान्तिको लेखिरहेंँ!

       डाकेर ल्याउन भनिरह्यौ
       आमालाई मैले ल्याइरहेंँ
       नाङ्गोे तिमीले पारिसकेछौ
       बाँकी टुलटुल च्याइरहेंँ!
        
       सुँंघेर थुंगा फालिरह्यौ
       टिपेर माला गाँसिरहेंँ
       खोसेर माला भिरिसकेछौ
       छोपेर मुख म हाँसिरहेंँ!

       कष्ट हजारौँ दिइरह्यौ
       सहँदै आफूलाई फेरिरहेंँ
       सबथोक तिमीले लुटिसकेछौ
       छक्क परेर हेरिरहेंँ!

       डोलीमा चढेर बसिरह्यौ
       पिल्सियो काँध यो बोकिरहेंँ
       शीरमा तिमीले टेकिसकेछौ
       मेरो आक्रोश रोकिरहेंँ!

       घरिघरि मुटुमा थिचिरह्यौ
       सकी नसकी थामिरहेंँ
       छातीमा घुस्सा हानिसकेछौ
       सुस्तरी नीलडाम छामिरहँें!

       हात पाउ जोडी बाँधिरह्यौ
       टोकी बन्धन खोलिरहेंँ
       ओठ पनि मेरो सिइसकेछौ
       तै पनि मनमन बोलिरहेंँ!

       बादल हाली टालिरह्यौ
       बिजुली आँखा सल्काइरहेंँ
       गोडा नेलले बाँधिसकेछौ
       तैपनि पाइला लम्काइरहेंँ!
        
       दिमाग हरदिन भुटिरह्यौ
       चलन कस्तो यो सोचिरहेंँ
       बाटोमा पर्खाल हालिसकेछौ
       भत्काएर जान घोचिरहेंँ!

       नाच्न हर साँझ लाइरह्यौ
       मजबूर पाइला नाचिरहेंँ
       वेदना लाखौं लादिसकेछौ
       हिसाब एक एक साँचिरहेंँ!

       भाग्यको खेला भनिरह्यौ
       पक्क परेर सुनिरहेंँ
       अभागी तिमीले पारिसकेछौ
       बठ्याइँ तिम्रो गुनिरहेंँ!

अवतार के के लिइरह्यौ 
चढाई फलाहार पुजिरहँें
दिनलाई रातमा फेरिसकेछौ
अनौठो चाल यो बुझरहेंँ!

बजारमा बारबार बेचिरह्यौ
मलाई मैले निखनिरहेंँ
कालो सृष्टिमै मिसाइसकेछौ
उज्यालो मात्र म निफनिरहेंँ!

तिमीले मार्न खोजिरह्यौ
बाँच्न मैले सिकिरहेँ
अँध्यारो तिमीले रोपिसकेछौ
घाम जून तारा टिपिरहेंँ!

उखेली फाल्न तानिरह्यौ
जमीनमा जरा टेकिरहँें
मृत्युको फैसला लेखिसकेछौ 
मुटुलाई मैले छेकिरहेंँ!

किन हो हाँगा छाँसिरह्यौ
भएर पालुवा पलाइरहेंँ
गल्लीमा थुंँगा फालिसकेछौ
तैपनि वासना चलाइरहेंँ!

गरेर खिसी हाँसिरह्यौ
भित्र भित्र म रोइरहेँ
तिमीले संग्राम थालिसकेछौ
बन्दुक मात्र म छोइरहेँ!

बनेर असिना चुटिरह्यौ
उचाली मुना कामिरहेंँ
चट्याङ परेर झरिसकेछौ
दुखेको मुटु म थामिरहेँ!

बनेर आगो पोलिरह्यौ
बाफको पंख यो हालिरहेँं
भएर भुमरी बेरिसकेछौ
तरबार पङ्खको चालिरहेंँ!

बादल दौडी ठोकिरह्यौे
झलिलि बिजुली चम्किरहेंँ
भएर पर्वत रोकिसकेछौ
उफ्री नाघी लम्किरहेंँ!

पहिरो छातीमा झारिरह्यौ
बनेर मैदान रोकिरहेँ
कम्मरसम्म त डुबाइसकेछौ
दाँतले ओठ म टोकिरहेँ!

बार्दलीमाथि टाँगिरह्यौ
रङ्ग गुमाई सुकिरहेँं
पीठमा भाला रोपिसकेछौ
मात्र म बाटो ढुकिरहेँ!

रगतको रोटी खाइरह्यौ
पसिना मात्र म झारिरहेंँ
जाल बुनेर हानिरह्यौ
बन्धनहरुलाई उधारिरहेंँ!

विषालु वायु फुकिरह्यौ
इन्तुन चिन्तु भई ओइलिरहेंँ
आकार मेरो मेटिरह्यौ
बनी निराकार फैलिरहेंँ!

वारिपारि तरिरह्यौ 
पुल बनेर तारिरहेंँ
आरनभित्र झोसिसकेछौ
जली जली आफूलाई खारिरहेंँ!

सृष्टिको गीत गाइरह्यौ
स्रष्टा म रोटी मागिरहेंँ
पसल तिमीले थापिसकेछौ
आफूलाई बिक्रीमा टाँगिरहेँ!

धातुझैँं पोली गालिरह्यौ
धारिलो धार टल्किरहेँ
निभाई मार्न फुकिसकेछौ
चुलामा घरघर सल्किरहेँ!

धर्म पुराण सिकाइरह्यौ
मैले जीवन पढिरहेंँ
नास्तिक बिल्ला लाइसकेछौ
कर्ममै अघि अघि बढिरहेंँ!

धर्मको पर्दा हालिरह्यौ
ढकनी गोप्य उघारिरहेँ
खोक््र्को इज्जत सिइसकेछौ 
टाँका त्यसको उधारिरहेंँ!

देउता बेची कमाइरह्यौ
भाडाको देवी खोजिरहेँ
अप्सरा तिमीले हरिसकेछौ
जसलाई पे्रयसी रोजिरहेँ!

दासलाई जस्तै दाँजिरह्यौ
नमानी म्याद गुजारिरहेँ
कैयौंँ बिगार गरिसकेछौ 
सृष्टिलाई मात्र म सुधारिरहेंँ!

बन्दुक गोली छोडिरह्यौ 
निसाना म पनि ताकिरहेँ
थुन्ने झ्यालखान रचिसकेछौ
आफूलाई स्वाधीन राखिरहेँ!

चैनको दर्बार जखिरह्यौ
काँडाको तर्बार पक्रिरहेंँ
फूलको जोवन फाँडिसकेछौ
कविता वागमा फक्रिरहेँ!

जुवा थमाई हाँकिरह्यौ
रामराम! रामराम!! भनिरहेंँ
लोकको छाला काढिसकेछौ
कुकर्म तिम्रा गनिरहेंँ!

समाधि हाली ढोगिरह्यौ 
मारेको किन हो सोधिरहेँ
तस्वीर टाँगी पुजिसकेछौ
आडम्बर तिम्रो भोगिरहेँं!

सुराहीबाट हालिरह्यौ
ओठको प्याला थापिरहेंँ
प्रपञ्च के के रचिसकेछौ 
सत्यको काव्य म छापिरहेँ!

विजयी गाना गाइरह्यौ
धून बनेर थर्र्किरहें
किन हो मुटुमा दरिसकेछौ
व्यथा भएर म चर्किरहेँं!

युगलाई सर्वदा ढाँटिरह्यौ
सन्देश साँचो उदाइरहेंँ
फरेब झूठो लाइसकेछौ
जमाना नौतुन छाइरहेंँ!

फूलको चुल्ठो तानिरह्यौ
हो कि प्रणय ठानिरहेंँ
दालमा कालो राखिसकेछौ
युगको छातिले छानिरहेँ!

विधान बन्धन रचिरह्यौ
नसकी बाँधिन तोडिरहेंँ
अघिपछि तगारो हालिसकेछौ
स्वाधीन पाइला मोडिरहेँ!

पाताल जङ्गल बुनिरह्यौ
पसेर बाटो खोलिरहेंँ
पहरा लहरा छेकिसकेछौ
वारपार झाडी छिचोलिरहेँ!

मैलो कालो पोखिरह्यौ
जुनेली पिढीमा लिपिरहेंँ
बाँसुरी तिमीले भाँचिसकेछौ
बिनायो कर्दले खिपिरहेंँ!

जातपात के के लादिरह्यौ
मानव कर्म गरिरहेंँ
उँचनीच रेखा कोरिसकेछौ
सभ्यता सुन्दर भरिरहेंँ!

श्रमको मूल्य तोकिरह्यौ
अमूल्य कीर्ति म दिइरहेँं
फाइदा लाखौँ जोडिसकेछौ
प्रशंसा सोपान पिइरहेंँ!

आजलाई मात्र सोचिरह्यौ
भोलिको सुर्ता गरिरहेंँ
दूरदृष्टि गुमाइसकेछौ
चाँदीका घेरा हालिरहेँं!

भाग्यमा के के लेखिरह्यौ
जसलाई दिन दिन फेरिरहेँ
जूनको रोटी बेलिसकेछौ
ताराको झु48डमै हेरिरहेंँ!

दुनियाँ लोक सुकाइरह्यौ
प्यासी छाती म लुकिरहेँ
फूलको हाँगा लाछिसकेछौ
फलको डाली म भुकिरहेँ!

सेवाको बाटो खोजिरह्यौ
नजिकै असहाय पल्टिरहेँ
प्रजापति आफूलाई भनिसकेछौ
कानुनकै दफाले सल्किरहेँ!

वेद पुराण घोलिरह्यौ 
मुछेर व्यञ्जन खाइरहेंँ
अफिम त्यसमा हालिसकेछौ
झम्झम् मस्त म गाइरहेँ!

दुनियाँ लाटो पारिरह्यौ
मैले चेत जगाइरहेंँ
भूमि किनबेच गरिसकेछौ
अनाज खेती लगाइरहेँ!

बमले बस्ती रोकिरह्यौ
आँसुको पट्टी बाँधिरहेंँ
अँध्यारो जगमा हालिसकेछौ
घामको अश्व म छाँदिरहेँ!

हरदिन तल तल गिरिह्यौ 
दिएर काँध उठाइरहेंँ
कालो बादल ढाकिसकेछौ
आँधी नचाई फुटाइरहेंँ!

जुवा काँधमा हालिरह्यौ
युगको हलो खिचिरहेंँ
उब्जनी तिमीले भरिसकेछौ
पसिना धर्तीमा सिंचिरहेँ!

मुहान छेकी बाँधिरह्यौ
मूल बनेर फुटिरहेँ
थुनी प्रवाह रोकिसकेछौ 
धार नदीको छुटिरहेँ!

ज्ञान भिखारी बनिरह्यौ
बुद्धिको पोया बाटिरहेंँ
घृणाको नोट छापिसकेछौ
असर्फी दिई साटिरहेँं!

बनी गोमन चुसिरह्यैा
प्रेमको दूध पस्किरहेँ
मुटुमै मेरो डसिसकेछौ
नसा नसामा झस्किरहेँ!

बनाई बाजा ठोकिरह्यौ
घिनिघिनि...तकथै...घन्किरहेँ
तार बनाई कसिसकेछौ
संगीत खिरिलो तन्किरहेंँ!

बनाई नाटक खेलिरह्यौ
मञ्चमा जीवन घोलिरहेंँ
सम्वाद उल्टो लेखिसकेछौ
सूत्रधार भई बोलिरहेँ!

तालमा फोहर फालिरह्यौ
भएर कमल ढाकिरहेँ
उल्टो बाटो खनिसकेछौ
जिन्दगी सोझो हाँकिरहेँ!

बनाई चङ्गा छोडिरह्यौ
पखेटा चाली तैरिरहेँ
अँध्यारो सबतिर छरिसकेछौ
उज्यालो जगमा ओइरिरहेँ!

हिउँले पर्वत पुरिरह्यौ
उचाई थपी अग्लिरहेंँ
रापिलो गृष्मले सेकिसकेछौ
कोशी भई बग्न म पग्लिरहेँ!

भीर भै पहरा उभिरह्यौ
लत्री सुनाखरी झुलिरहेंँ
कालो इन्साफ थालिसकेछौ
मगमगी वासना डुलिरहेँ!

रसका थोपा लुटिरह्यौ
महको बुँद झैँ थुप्रिरहेंँ
सिध्याई दिएको ठानिसकेछौ
प्राण भै पोसिलो उफ्रिरहेँ!

सप्सपी जाल हानिरह्यौ 
सललल सट्ट म छलिरहेँ
ड्याम्म तलाउ थुनिसकेछौ
सपनी जलको चलिरहेंँ!

सिमसिमे पानी पारिरह्यौ
इन्द्रेणी नवरङ्ग झारिरहेँ
जङ्गली तस्कर बनिसकेछैा
बाटिका फलको बारिरहेँ!

बनाई हलो ताछिसकेछौ
जमीन बाँझो जोतिरहेँ
राक्षस रुप धरिसकेछौ
मान्छेको बुट्टा म पोतिरहेँ!

थरिथरि औजार किनिरह्यौ
तर्कको फौजले भिडिरहेंँ
आरोप उग्रको लाइसकेछौ
देशभक्त जेलमा सडिरहेँ!

समाई रालो तानिरह्यैा
घण्ट म टङ...टङ...बजिरहेंँ
तिमीले आगो लाइसकेछौ
आरती बनेर सजिरहेँ!

सिँंगौरी खेली डुक्रिरह्यौ
रमिता हेरी तर्किरहेंँ
भित्तामा जोर सिङ भाँचिसकेछौ 
जीतको पालो म पर्खिरहेंँ!

पराया किन हो पारिरह्यौ
मानवी साइनो केलाइरहेंँ
दुश्मन तिमीले ठानिसकेछौ
मित्रको हात यो फैलाइरहेँ!

भाखा दिन दिन फेरिरह्यौ
ढुकढुकी तिम्रा छामिरहेँ
कविता तिमीले च्यातिसकेछौ
लयमा जिन्दगी खामिरहेँ!

दम्भमा भुलभुल उम्लिरह्यौ
विनासकाले ठानिरहेंँ
विपरीत बुद्धि लिइसकेछौ
अफसोस् गहिरो मानिरहेंँ!

तक्मा छातीमा टाँसिरह्यौ
कोमल हृदय दुखिरहेंँ
जीतको उद्घोष गरिसकेछौ
कुरीकुरी लागेर लुकिरहेँ!

घाउमा मुङ्ग्रो हानिरह्यौ
पीलो दर्दको फुटिरहें
ह्याकुला छुरीले चिरिसकेछौ
खुनको धागोले खुटिरहेंँ!

लिहीमा राखी पिटिरह्यौ
तीर बनेर उडिरहेंँ
गोल बनाई खेलिसकेछौ
गोलगोल भद्रगोल गुडिरहेँ!

कोइलीको फूल राखिरह्यौ
कागको ओथ्रा बसिरहेंँ
अधुरो सृष्टि छोडिसकेछौ
फूलमा तातो पसिरहेंँ!

थान्को मान्को गरिह्यौ
तुलसी आँगन रूँघिरहेँ
बाज मलाई थुनिसकेछौ
खोंगी चुच्चोले ठुँगिरहेँ!

फणाले स्वाँ स्वाँ भनिरह्यौ
गरुड बनेर आइरहेँ
डस्नलाई निसाना ताकिसकेछौ
नृत्य पो ठानेर रमाइरहेँ!

ऐनको पर्खाल हालिरह्यौ
बनेर धमिरा लागिरहेंँ
घोषणा शान्तिको गरिसकेछौ
शान्तिकै डरले जागिरहेँ!

       बनाई बिजुली बालिरह्यौ
       छाया तिम्रो देखाइरहेंँ
       युगको इतिहास मिचिसकेछौ
       साहित्य सत्य लेखाइरहेंँ!

       अँध्यारो घर घर पसिरह्यौ
       आफ्नै छाँया हराइरहेँ
       राष्ट्रलाई बन्धकी राखिसकेछौ
       देशको माया कराइरहेँ!

       जुलूस अगाडि बढिरह्यौ
       नजिकै राष्ट्र म झोक्रिरहेँ
       देशको गरिमा गाइसकेछौ
       मुलुक म हरपल खोक्रिरहेँ!

       उन्यू भएर उमि्ररह्यौ
       वसन्त म पात पात डुलिरहेंँ
       शक्तिले अन्धा बनिसकेछौ
       बिहानी पूर्वमा खुलिरहेंँ!

       दिन दिन माया मारिरह्यौ 
       तिमीमै बाडुली चलिरहेँ
       मृत्यु बनेर घेरिसकेछौ
       छातीमा ढुकढुकी हालिरहेँ!

                      

५२ - परेवा र धारिला प्वाँखहरू (विक्रम सुब्बा)

आँगनमा ओर्लेर
परेवाले चारो टिप्यो  
डुँडमा राखेको पानी पियो
तरबारझैँ तानेर प्वाँखहरुमा
चुच्चोले साँध चढायो र आकाशतिर उड्यो


म देखिरहेकोछु
परेवालाई पनि धारिला प्वाँखहरुले मात्र

उचाइमा पुर्‍याउँदा रहेछन्।

५१ - दरबार भत्किरहेछ (विक्रम सुब्बा)

हीरा मोतीको जामा फुकालेर भित्ताहरु नाङ्गै उभिएका छन्
झ्यालका आँखा आँखामा फुटिसकेका छन् रङ्गीन सिसाहरु
ढोकामा काठका जिब्राहरु सडिसकेका छन्
पर्खालका हड्डीहरु धूलो भएर खस्दैछन्
कता गायब छौ अकबर?
यता तिम्रो दरबार भत्किरहेछ
नजिकै यमुना नदी युगौँदेखि बगिरहेछ !

तिम्रा आठसय स्वास्नीहरुको गोठ भत्किरहेछ
नाङ्गो तरुनीहरुको गोटी राखेर खेल्ने तिम्रो
सतरन्जको संगमरमरी बोर्ड भत्किरहेछ
नैा ग्रह राख्ने मन्त्रालय भत्किरहेछ
पुजारी पादरी र मुल्लाका छोरीहरुलाई
महारानी बनाएर थुन्ने खोपीहरु भत्किरहेछन्
असंख्य सेनाहरुको काँडे तार पनि भत्किरहेछ
जैसलमेरको दरबार हेर्छु भत्किरहेछ
जोधपुर, जयपुर र आगराको दरबार हेर्छु भत्किरहेछ
आकाश उही छ
घाम, जून र बतास उही छ
जिन्दगी उस्तै छ
देशवासीले रेखदेख नगरेको सिरिफ दरबार भत्किरहेछ
नजिकै यमुना नदी युगौंदेखि बगिरहेछ !