सानो जातको बाबुराम बाहुन
ठूला र उच्चजातका मानिसहरूको गाउँ-घरमा
दिनरात...बारै महिना... जहाँपनि...जहिलेपनि
इमान-जुवानको ख्यालै नगरी
जोड जोडले कराएर नारा लगाउँछ…हल्ला गर्छ
हुन पनि हो...
बाबुराम बाहुनले हल्ला नगरे के गर्छ?
उ अछुत बाहुन !
उसले छोएको पानी मर्छ र गन्हाउँछ
तर उसको छोरी सबै देउतालाई चल्छ
उ सानो जातको बाहुन भएकोले
बेरोजगारीको दमाहाले पेट पाल्छ
काम दिए पनि दिनेले
फोहोर सोहोर्ने गीतको
नरसिंगा फुक्ने काम मात्र दिन्छन्
उ अछुत बाहुन भएकोले -
मन्दीर पस्ने उसका खुट्टा काटिएका छन्
योग्यता क्षमता पुगे पनि
गतिलो जागिर चाख्ने उसको मुख टालिएकोछ
हुँदाहुँदा आफ्नै भाषामा लेख्ने हात
र बोल्ने जीब्रा बाँधिएका छन्
हो, उ अछुत बाहुन भएकोले नै
दिनमा दसौँ पटक
ठूला जातका कामी दमाईहरूबाट
घोर अपमानको टिका थाप्दै बाँच्नु पर्छ
क्षणक्षणमा र ठाउँ-ठाउँमा
जातीय भेदभावको आक्रोश पिउँदै जिउँनु पर्छ
भित्र फोहोरीहरू मात्र बसेकाले होला, उसले
हुटेलको चिया बाहिरै सफा ठाउँमा खानु पर्छ
अड्डाहरूमा उसको काम जुत्ता सियेजत्तिकै ढिलो गरिन्छ
चुनावमा भोटदिने उसको अधिकारलाई
कतै बाँधेर पता फर्काएर लडाईराखेजस्तो लाग्छ
हो, आज सम्म यो गाउँमा
बाबुराम जस्ता सानो जातका
असंख्य अछुत बाहुनहरूलाई
कसैले न्यायको सुपारी खुवाएनन्
यी बिचरा पिछडिएका र अपहेलित बाहुनहरूको
मानव अधिकारका लागी
अमेरिकाले पनि कहिल्यै गीत गाएन
त्यसैले अछुत बाबुराम बाहुनहरू
जोड जोडले इन्क्लावी नारा लगाईरहेछन्
ठुलो सानो जात नमान्ने कवि विक्रम सुब्बा
उनीहरूको नाराकै पछिपछि
कविताका जुलुस लिएर हिँडिरहेछ
जबसम्म बाबुराम बाहुनहरू दिन रात
जताततैबाट बहिस्कृत र तिरस्कृत हुन्छन्
तब सम्म अछुत बाबुराम बाहुनहरू
इन्क्लावी नारा लागाइरहनेछन्
सानो जातका बाहुनहरूको नाराले एकदिन
आकाश पड्किएर चक्नाचुर हुनेछ
यो एक कविको भविश्यवाणी हो
र त विक्रम सुब्बाका कविताका हरेक हरफहरू
अछुत बाबुराम बाहुनहरूको जुलुसका कदममा कदम
लयमा लय मिलाएर हिँडिरहनेछन्
किनभने
समाजका अछुत-अपहेलित बाबुराम बाहुनहरूको जुलुस
र विक्रम सुब्बाका कविताहरूको उद्देश्य फरक छैन...
No comments:
Post a Comment