Friday, May 6, 2016

२६ - लम्पट राजतन्त्र (विक्रम सुब्बा)

कुनै सम्मानित सभामा
बनाएर मलाई प्रमुख अतिथी
पहिर्‍याएर खादा-माला आसन ग्रहण गराउँदा
मेरो अंगअंग र रक्तकण सबै हुन्छन् प्रफुल्ल
कुनै मालामाल समिति-कमिटीको अध्यक्ष बनाई
गर्न दिए मलाई बैँक खाताको चेकमा हस्ताक्षर
हात-आँखाका तन्तुतन्तु मेरा दंगदास हुन्छन्, भने
खोइ ढल्यो लम्पट राजतन्त्र म भित्रको?


चिनेजानेको मानिसले बाटोमा
ढोग-दण्डवत-नमस्कारले गरे सम्मानभने
भित्र पस्छ अनौठो उर्जा र जिउ दिनभर मक्ख पर्छ
कसैले 'हजुर' भनेर गरे संबोधनभने
यी कान हुँदै पस्छ खुशी नसानसामा
हरेक हप्ता-दशदिनमा पत्रपत्रिकातिर
भाषण गर्दैको फोटो छापिएको मेरो देख्दा
शिरमा शिरपेच र हातमा राजदण्ड
मेरा निम्ती कायमभएझैँ हुन्छ, भने
खोइ ढल्यो लम्पट राजतन्त्र म भित्रको?


म खासमा केही नजान्ने हुस्सु मानिस
तर लेखेको कुनै पुस्तकको भुमिकामा
'प्रेरणाको लागि धन्यवाद' भनि मेरो नाम लेखेभने
बिजुली-तागत मेरा नौवै नारीमा जर्मुराउँछन्
कार्यक्रममा कुनै विमोचन-उद्घाटनको
मलाई साभपति-प्रमुख अतथी बनाएको क्षण
खाँट्टी सम्राट भएजस्तो हुन्छ म भित्रको मानिस
छिन-छिन, दिन-दिन र समय-समय
शक्तीबर्धक यी प्रशंसाका क्याव्सुलबिना
बाँच्नै सक्दिन म यो दुनियामा
किन भने म खोक्रोछु भित्रभित्र पुरै
र बाहिरिया-देशी-विदेशी क्रितृम पम्पले बाँचिरहेछु, भने
खोइ ढल्यो लम्पट राजतन्त्र म भित्रको?

No comments:

Post a Comment