Friday, May 6, 2016

२१ - सिंहदर्वार (विक्रम सुब्बा)

जुन उपत्यकामा 'सिंह' कहिल्यै थिएन 
कसको कैफियती वीर्यले तँ
बास्टार्ड ‘सिंहदर्वार’ जन्मिस्, र
मुलुकको भीर-पाखा र दूरदराजका मनुवाका
खुन-पसिना खैँचेर बैभव कमाईस्?


सिंहदर्वार, तँ चुपचाप केही नबोली
सँधै, हरेक नेताका मुखमा
दाह्रा-बंगारा जडान गरिदिन्छस्
जसले मानिसको सिकार पक्रेर
तेरो निम्ती कवाफ जुटाईदिन्छन्


जन-जनको सेवक जागिर पाएका
हाकिम र कर्मचारीका औँलाहरूमा तँ
हिंस्रक नंग्राहरू जडान गरिदिन्छस्
जसले रैथाने मानिसको निरीह छाती लुछेर
तेरो लागी छोएला र सेकुवा ल्याईदिन्छन्


म छक्कै परेकोछु, कि -
तेरो बा-आमा सिंह-सिंहिनी नै थिए भने
तेरो नाक त थेप्चो हुनु पर्ने हो,
आँखा चिम्सा हुनु पर्ने हुन्
झ्याप्प दाह्री-जुँगा कुन ककेशीयनकोबाट
तेरो ओँठ र चिउँडोमा सारिस्?
धुर्त खुराफाती दिमाग
कुन चाण्क्यको खप्परबाट आफ्नोमा हालिस्?
भन्, तेरो आसली रुप के हो 'सिंहदर्वार'?


मलाई शंका लागेकोछ, कि-
भारतीय नस्लको कुनै हरामी सिंहले
कान्तिपुरको कुकुर्नीलाई वीर्य दान गरेपछि
तँ जन्मेको पो हो कि 'सिंहदर्वार!'
खाँट्टी 'सिंह' त
यति धेरै अत्याचारी नहुनु पर्ने हो


भन्, तँ जन्मिँदा वरिपरिका
कति तामाङका जवान रगत-पसिना पिईस्?
अनेक कालखण्डहरूमा सातसाल सम्ममा
कति नागरिकलाई तुरुङ ठोकेर मारिस्?
कति ईमान्दार जनतालाई शुलीमा झून्ड्याइस्?
कति पतिव्रतालाई चीतामा शती चढाईस्?
कति बाहुन-टाउको चारपाटे मुडेर भन्ञ्याङ कटाइस्?
कति राजालाई तरुनी-रक्सीले मताएर
आफ्नो निम्ती ‘राजदण्ड’ हात पारिस्?
आफुलाई 'सिंहदर्वार' भन्दै, यहीँबाट
एकतन्त्रे राणा शासन कसरी चलाइस्?
आफुलाई 'सिंहदर्वार' भन्दै, यहीँबाट
निरंकुश राजतन्त्र कसरी चलाइस्?
आफुलाई 'सिंहदर्वार' नै भन्दै, यहीँबाट
उत्ताउलो-कांग्रेसी साशन कसरी चलाइस्?
आफुलाई 'सिंहदर्वार' भनेरै, यहीँबाट
पञ्चायती हिजडा शासन कसरी चलाइस्?
'सिंहदर्वार'कै आडमा लुकेर, यहीँबाट
नौलो प्रजातन्त्रको नाटक कसरी खेलिस्?
आफुलाई 'सिंहदर्वार' भनेरै, यहीँबाट
गणतन्त्रको न्वारानको दिनैदेखि
कसरी मुलुकलाई खाल्डोमा हालिस्?


बोल, सिंहदर्वार, बोल !
जुन उपत्यकाको ईतिहासमा
'सिंह' कहिल्यै थिएनन् भने, तँ
कसको कैफियती वीर्यले 'दरवार' भएर जन्मिस्?
नबोली चुपचाप अझै मुलुकलाई वर्वाद गर्छस् भने
अब म, भुइँचालो भएर तँलाई ध्वस्त पार्नेछु
त्यसपछिको मुलुकमा
‘दर्वार’का निम्ती केही हुने छैन, तर
जनताका ‘घर्बार’का निम्ती सबथोक हुनेछ ।

No comments:

Post a Comment