हरेक मान्छे भित्र-भित्र सँधै कविता लेख्छ
कविताका अक्षरको कर्म -
सौन्दर्यको शिरदेखि पाउ सम्म जीवन भर्नु हो
'जीवन', सिम्फोनी उराल्ने समुद्री छालहरूको वगैँचा हो
जहाँ बिछट्टका मोतीहरु प्रेमको सागरमा फल्छन्
मोतीहरू पिरतीको काँचो धागोमा उनेर
ताजमहलतिर बढी रहेको प्रेमीलाई
अचानक, सम्राटको पानीजहाजबाट उत्रेका
समुद्री डाँका मोतीको माला लुट्न बसेकाछन्
तर डाँकाहरूलाई छक्याएर मोतीका माला
मायालुका गर्धनमा जुलुस भएर लर्किन्छन्
कविता, तिनै मोतीलाई मालामा गाँस्ने रेशमी धागो हो
सडकहरूमा छाल उराल्दै जब तुफान उठ्छ मानव-समुद्रको
वादलका दरवारहरू चिर्दै झर्ने चट्याङ पनि हो कविता !
कविताका लयहरूको निसाना –
हाड-छालाभित्र जिन्दगीको सुन्दर रुप हुल्नु हो
'सुन्दर जिन्दगी', तरेलीहरुले
आपसमा अँगालो मार्दा बनेको थुँगा हो
थुँगा, पातहरूले काँडाका आँखा छल्दै-छल्दै
माथि कतै हाँगाको धुरीमा पुगेर मुस्कुराउँछ
घाम-जूनसँगको प्रितीका कुरा मनभरि खेलाउँछ, र -
सुगन्ध-लिखित प्रेमपत्र वतास हस्ते पठाउँछ
ऐन मौकामा, पत्थरको मानिस फूललाई निमोठ्छ
हाँगाको ताजा रगत लत्पतिएको फूलको जवान लाश लगेर
कोठाको बन्दी देवताका पाउमा चढाउँछ
मन्दिर, फूलको हत्यामा शोकाकुल आँशु बलेसीमा झार्छ
सहस्र हातमा अस्त्रहरू उचालेर उभिएको उग्र पत्थरको देवता
न अपराधीलाई सजाय दिन सक्छ
न फूललाई नयाँ जिन्दगी दिन सक्छ
तर फूलका हत्यारा विरुद्ध फूलकै हातका
हतियारमा सामेल धारिलो धार हो कविता
स्वाधीन बगैँचाको रक्षार्थ तरवार हो कविता !
हरेक कविता आफ्नै हत्केलाले आकाशमा
अलंकारका जग्मगाउँदा तारा थप्न चहान्छ
'तारा', अँध्यारोलाई
लगातार खाँदैजाने पल्टनको आकाशगंगा हो
जहाँ सहस्र तारा दिनै शहीद भएर झर्छन्
तथापी असंख्य योद्धाका लस्कर
हरेकसाँझ संग्राममा सामेल हुन्छन्
आकाशगंगामा लाखौँ योद्धाले आठै प्रहर
मोर्चा सम्हालेर संघर्ष चालु छ पुस्तौँ-पुस्ता
त्यही आकासगंगामा थप एक तारा हो कविता
योद्धाहरूको फौजमा एक अर्जुन हो कविता !
कविताको अभिष्ट –
सभ्यताको मुटुमा ढुकढुकी भर्नु
'ढुकढुकी', रगत र आँशुमा नुहाइरहेको आत्मा
आत्मा, जो दिनरात ढुकढुकीहरू गाएर गुजारा गरिरहेथे
ढुकढुकीहरू, जो नयाँ युगको हुरी-वतास भएर उर्लिरहेथे
देख्दै छु, सहस्र धड्कनलाई ताकेर चिसा बन्दुकहरू
टुरिष्ट भिसामा घुम्न यो मुलुक आईरहेछन्
तर धड्कनहरू सँधैझैँ -
नयाँ जङ्गेका गन्हाउँने शासन विरुद्ध मोर्चामा सामेल छन्
त्यही मोर्चामा फुकिने बुलन्द शंख ध्वनी हो कविता
बह्मास्त्रलाई निरंकुसताको गर्धनतिर पु-याउँने पंख हो कविता
हो, हरेक मानिस भित्र-भित्र सँधै कविता लेख्छ
हाम्रा पुर्खा र हामी सबै कवि हौँ
मुलुक, हाम्रा पुर्खाले रचेको एक महाकाव्य हो
'महाकाव्य', चार-जात छत्तिस-वर्णका
सर्ग-सर्गले सजिएको वगैँचा हो
वगैँचा, जहाँबाट हरेक रैथाने विरुवाले
मुलुकको फोक्सोमा दिनै अक्सिजन तिरिरहेछन्
र पनि उदण्ड बाँदरहरूले यो बगैँचामा
सम्विधानको थोत्रो बन्चरो हानिरहेछन्
र त जात-जातका धडकनहरू मसाल ओकलिरहेछन्
त्यही मसालमा सामेल भएर
दन्दनाउँदो राँकोको झुण्ड हो कविता
नव-तानाशाहलाई खरानी पार्न
नित्य बलिरहने हवन-कुण्ड हो कविता !
No comments:
Post a Comment