Wednesday, May 4, 2016

४ - तिहार र देश (विक्रम सुब्बा)

बन्दुक धेरै भुकेकाले, कागहरू
अचेल गाउँ-घरतिर आउँदैनन्
यसपाली त तस्बिरै राखेर
काग-पूजा गर्न छोरीलाई भन्नु पर्ला

धेरै भइसक्यो वस्तुभाउहरू गोठमा
असुरक्षाको नुन-पानीले दुब्लाएका छन्
कोरली र बाच्छाहरू बम-गोलाले सोत्तर भएका छन्
गाईको सट्टा यसपाला
कूश राखेरै लक्ष्मी पूजा गर्न
श्रीमतीलाई भन्नु पर्ला

चाढपर्व आइसक्यो केही गर्‍या छैन
ज्यान जोगाउँदै केही भ्याएको छैन...
हेडमास्टरको कुर्सीछेउमा
अपहरणको छाँयाले हात लम्काईसक्यो
बेरोजगार मृत्यु काम खोज्दै
मर्निङवाकमा सबेरै भेटिन्छ
त्रासको आगोले चुलाहरू
सेल-रोटी पाकाउँन छोडेर
गाउँ-समाज ढाकेर कालो धुवाँ छादिरहेछन्
देशवासी हो ! होसियार !!
मुलुकको लम्पसार मानचित्रको शिरमा अचेल
नयाँ नयाँ शिर्षकहरू दाउ खोज्दैछन्
तिहार त गए पनि अर्को वर्ष फेरि आउला
तर एकचोटि कतै गएपछि फर्केर आउँदैन देश ।


No comments:

Post a Comment