Wednesday, May 4, 2016

७ - मेरी वहिनी देवी (विक्रम सुब्बा)

उसले वतासलाई धक्का दिँदै नाच्दा
रोटे पिङ रमाएर घुमेजस्तो लाग्थ्यो
ऊ फूलझैँ मुस्कुराउँदा
नजिकैबाट सयपत्रीको वास्ना चलेजस्तो लाग्थ्यो
उसलाई कतै गईरहेको कतैबाट आईरहेको देख्दा
लिङ्गे पिङमा मच्चिएकोजस्तो लाग्थ्यो
उसको प्रफुल्ल अनुहार देख्दा
झिलिमिली बत्तीहरू बलेजस्तो लाग्थ्यो
यसपाली ऊ हप्त-दशदिन हामीसँग बसिदिँदा
सिङ्गै तिहार हामीसँगै भएजस्तो लाग्यो
किन किन मेरी वहिनी मलाई देवीजस्तो लाग्यो ।


तल्लो घरमा, पल्लो घरमा उसले बोलेको सुन्दा
भैली खेल्नेहरूको माझमा भट्याइरहेकोजस्तो लाग्थ्यो
उसले आँगनमा निस्केर तारा जून गन्दा
आकाशको फूलवारीमा फूल टिप्न पसेजस्तो लाग्थ्यो
उसले दु:ख सुख झेल्दै बालबच्चा हुर्काएको अनुभव सुनाउँदा
थुंगा-थुंगा छानी-छानी माला गाँसे जस्तो लाग्थ्यो
उसका चम्किला आँखाहरू देख्दा
अनुहारको थालीमा जोर दियो बलेजस्तो लाग्थ्यो
वरिपरि उसका पाउहरू आवतजावत गर्दा
चोखो कलशले फेरो हालेजस्तो लाग्थ्यो
उसले केही खाने कुराहरू दिँदा
सेल रोटी र सगुन मेरो अघिल्तिर सारेजस्तो लाग्थ्यो
औँशीको दिन विदा भएर रुँदै-रुँदा
ऊ घर फर्केको केही दिन मात्र बितेको थियो
यसपाली खलङ्गामा फेरि आन्दोलन चलेछ
चेलीको खसम्ले गाउँमै वीरगती पाएछन्
सेतो चोलो, सेतो सारी र सेतो पछ्यौरा
वहिनीको उज्यालो पखेटा भएर पलाएजस्तो लाग्यो

किन किन मेरी वहिनी मलाई देवीजस्तो लाग्यो ।

No comments:

Post a Comment