आमाको हेरचाहमा हुर्केको तिम्रो दृष्टीकोण
तिमीले मेरै आँखाका जोर गमलामा सारिसकेपछि
अब मायालु नजरले हेराहेर गरे पुग्छ
हाम्रो उमङ्गको कुनै दंगदास तस्विर खिच्नु पर्दैन
तिम्रो मुहारका नर्सरीबाट कलमी ओँठहरू
मेरो अधरका बगैँचामा तिमीले सारिसकेपछि
अब पलपल चुम्बनको पराग चाखे पुग्छ
मधुपर्कका निम्ती पराई थुङ्गाहरू चाहार्नु पर्दैन
बा-आमाको आशिर्वाद मुताबिक
उमेरको पंखले उडिहिँड्ने बैसालु तिम्रो मनलाई
मेरो मायाको आकाशमा तिमीले टाँगिसकेपछि
अब राती मैले झ्याल खोलिदिए पुग्छ
तिम्रा जुनेली पाउहरुलाई मेरो खोपीमा झार्न
छुट्टै कुनै बायुपंखी भर्याङ हाल्नु पर्दैन
आमाका हत्केलाको सुरक्षा घेराबाट
तिमीले आफ्नो नगदी मुटुकलेजो निकालेर
मेरो छातीको खातामा जम्मा गरिसकेपछि
मैले अब निरन्तर ढुक्ढुकी ब्याज बोले पुग्छ
हाम्रो पिरतीको बुलन्द गीतलाई
छालाको मृदंग बाजाले बक्तव्य बनाएर बजाउँनु पर्दैन
आमाको न्यानो काखबाट तिम्रो शिर
राजिखुशी साथ मेरो अँगालोमा सुम्पिसकेपछि
मेरो गरम रक्तचापले सुमसुम्याईदिए पुग्छ
मायाको उर्लँदो ज्वारभाटा खोज्दै
छुट्टै कुनै सागर किनारतिर पुग्नु पर्दैन
म पुरुष ! कुनै जातको जीन-विजन
तिमी नारी ! विजनमा ज्यान भर्ने गतिशील रगत
अर्थात, हामी आफु अधुरा दुवै अर्धज्यान मात्र !
अपूर्व पूर्णताको खोजिमा थिएँ म शायद
पूर्णताकै अन्जान खोजिमा शायद थियौ तिमी पनि
हेर्दाहेर्दै मौसम मुताबिक पाकेको
झरिलो मेरो जवानी
तिम्रो लाली यौवनमा घोलिसकेपछि
अब तिमी केवल धर्ती भईदिए पुग्छ
कुनै असली नश्लको पुरानो शिवलिङ्ग सामु
शंख घण्टको नारा लाउँदै सृष्टी गुहार्नु पर्दैन
No comments:
Post a Comment