हीरा मोतीको जामा फुकालेर भित्ताहरु नाङ्गै उभिएका छन्
झ्यालका आँखा आँखामा फुटिसकेका छन् रङ्गीन सिसाहरु
ढोकामा काठका जिब्राहरु सडिसकेका छन्
पर्खालका हड्डीहरु धूलो भएर खस्दैछन्
कता गायब छौ अकबर?
यता तिम्रो दरबार भत्किरहेछ
नजिकै यमुना नदी युगौँदेखि बगिरहेछ !
तिम्रा आठसय स्वास्नीहरुको गोठ भत्किरहेछ
नाङ्गो तरुनीहरुको गोटी राखेर खेल्ने तिम्रो
सतरन्जको संगमरमरी बोर्ड भत्किरहेछ
नैा ग्रह राख्ने मन्त्रालय भत्किरहेछ
पुजारी पादरी र मुल्लाका छोरीहरुलाई
महारानी बनाएर थुन्ने खोपीहरु भत्किरहेछन्
असंख्य सेनाहरुको काँडे तार पनि भत्किरहेछ
जैसलमेरको दरबार हेर्छु भत्किरहेछ
जोधपुर, जयपुर
र आगराको दरबार हेर्छु भत्किरहेछ
आकाश उही छ
घाम, जून र
बतास उही छ
जिन्दगी उस्तै छ
देशवासीले रेखदेख नगरेको सिरिफ दरबार भत्किरहेछ
नजिकै यमुना नदी युगौंदेखि बगिरहेछ !
No comments:
Post a Comment