Wednesday, May 4, 2016

१३ - प्रणयतत्व (विक्रम सुब्बा)

थाहा छ, अब छिट्टै मर्दैछु
मरेपछि
यो ज्यानको 'पृथ्वी'[1]तत्वका परमाणुहरू
छरेर उर्वर बनाउँनुछ बगैँचा तिम्रो
र प्रणय दिवशका दिन, तिम्रै लागी
हाँगामा गुलाफी-गुलाफी मुस्कुराउनुछ

मृत्युपछि म भित्रको 'जल'[2]तत्वका वाफहरू
घोलेर रोमान्टिक छाँगा-छहरासँग नाच्दै झर्नेछु
त्रीशुली गंगाको दोभान कुइनेटोमा
रह-दहको अंगालो खोलेर स्वागत गर्नेछु, तिमी   
मेरो मायाको सङलो जलमा निथ्रुक्कै पौडिनु
तिम्रा हर अंगका घेराहरू औँलाले छोएर
सुमधुर प्रेमको जलतरंग बजाउँनुछ

मरणपछि मभित्रको 'वायु'[3]तत्वलाई
हुलेर तिम्रो सप्तरंगी आभामण्डलमा
अक्सिजनका मलिक्युलहरू मिसाउँनुछ
र चुपचाप पलपल स्वासप्रस्वास हस्ते, तिम्रा 
हरेक लम्बाई-चौडाईमा प्राण भएर सल्बलाउँनुछ 

नश्वर ज्यान त्यागेपछि मेरो 'अग्नी'[4]तत्वलाई
मिसाएर सूर्य-तेज किरणमा झुल्किनुछ, र
हरेक जिउँदो रक्तकणको गोठालो भएर, तिम्रा
तन्तुहरूमा नित्य न्यानो-मायाको दीयो बाल्नुछ

यो जुनी छोडेपछि मेरो 'आकाश'[5]तत्वलाई
तिम्रै शयन कक्षको अन्तरिक्षमा टाँग्नुछ
जसको आयतनभरि हर रात
प्रणय-प्रेमको धून बनेर आकाशवाणी गरिरहनुछ
जसको लय र सुर-तालमा समर्पित भएर, हाम्रा
ढुकढुकीले खुशीको सरगम हर साँझ गाउँनुछ

जुनी फेरेपनि मेरा सबै अनमोल तत्वहरू
तिम्रै अमनचयन खातिर खर्च-खपत गर्न सकुँ
जति पटक मरेपनि पुन: तरो-ताजा जुनी लिन
तिम्रो हृदयमा जरा हालेर खुरुखुरु सर्न सकुँ
                                                                



[1] मानव शरिरमा निहित 'पृथ्वीतत्व': शिरको केश, जीउका भुत्ला, नङहरू, दाँत, छाला, मांसपेशी, स्नायु, हड्डी, शरिरका अंगहरू, आन्द्रामा रहेका बस्तु, आदि पृथ्वी तत्व हुन् । मानिसको मृत्युपछि यी सबै फेरि (जलाए) खरानीका रुपमा वा (चिहानमा गाडे) कुहिएर पृथ्वीमा मिस्सिन   पुग्छन् ।
[2] मानव शरिरमा निहित 'जलतत्व': पित्त, कफ, खकार, थुक, पीप, रगत, बोसो, आँशु, पसिना, सिँगान, पिशाव, आदि जलतत्व हुन् । यी सबै तत्वहरू मानिसको मृत्युपछि (जलाए वा गाडे पनि) वाफ भएर फेरि पानीमा परिणत भएर जलमै मिस्सिन जान्छन् ।  
[3] मानव शरिरमा निहित 'वायुतत्व': स्वास-प्रस्वास, आन्द्राको वायु, डकार, आदि वायतत्व हुन् ।. यी सबै तत्वहरू मानिसको मृत्युपछि फेरि वातावरणमा नै मिस्सिन पुग्छन् । 
[4] मानव शरिरमा निहित 'अग्नीतत्व': शरिरको न्यानो र तातोपन, पचाउँने शक्ती, शारिरिक विकास र बृद्ध हुने प्रकृय, आदि अग्नीतत्व हुन् । मानव शरिरका अग्नीतत्वहरू पनि मृत्यु हुनासाथ वातावरणको तापक्रममै गएर मिस्सिन्छन् ।
[5] मानव शरिरमा निहित 'आकाशतत्व': कानको प्वालको खुला भाग, नाकको प्वालको खुला भाग, मुखको खुला भाग, गुदद्वार खुल्दाको खुला भाग, आदि आकाशतत्व हुन् । शरिरका आकाश तत्वहरू पनि मानिसको मृत्यु हुनासाथ खुला आयतनमै गएर मिस्सिन्छन् । 

No comments:

Post a Comment