रगतको आफ्नै मगज हुँदैन
दिमागका हरेक रेसामा रगत नपुगे
वुद्धि मर्ला र समाज बदल्ने
संघर्षको मार्गचित्र केले सोच्ने?
रगतको आफ्नो आँखा हुँदैन
आँखाका नानीले रगत खान नपाए
दुनिया हेर्ने दृष्टी मर्ला
र, स्वतन्त्र मानिसका अनुहार केले हेर्ने?
रगतको छुट्टै कान हुँदैन
एयरड्रमका तन्तुहरूमा रगत नपुगे
संगीत श्रव्यशक्ती पनि मर्ला
र, मानिसको विजयी गीत केले सुन्ने?
आफ्नो ओठ पनि हुँदैन रगतको
अधरका हरेक चुम्बनमा रगत नपसे
आमाको ममतामयी म्वाई पनि मर्ला
र, मायालाई ज्युँदो र न्यानो कसरी राख्ने?
रगतको आफ्नो रुद्रघण्टी हुँदैन
पुग्दो रगत स्वाश-नलीमा सिंचित नभए
गर्धन मर्ला र निर्जीव गलाले
मुलुकको गर्विलो गीत कसरी गाउँने?
रगतको आफ्नो हात पनि हुँदैन
देशबासीका सहस्र बाहुमा रगत नपुगे
पाखुरा र हत्केलाहरू मर्लान्
र ठूठाजस्ता हातले हतियार नसमाएपछि
सिमानाका प्रत्येक गौँडामा
देशको रखवारी कसरी गर्ने?
कुनै किसिमको मुटु पनि हुँदैन रगतको
मुटुलाई जीवनदिने अणुहरूमा रक्तकण नपुगे
मुटुको ज्यान जाला र मृत मुटुले
सिंगै मुलुकको ढुकढुकी कसरी बोलिदेला?
हुँदैन फोक्सो पनि रगतको आफ्नो
फोक्सोका दुबै फप्लेटामा नित्य रगत नपुगे
फोक्सो मर्ला र निर्जिव फोक्सोले
जातजातका इन्द्रेणी सास कसरी बोल्ने?
पाठेघर पनि हुँदैन रगतको
हरेक जवान युवतीका गर्भाशयमा
नियमित स्वच्छ रगत नपुगे
सृष्ठीको मुहान सुक्ला र क्रन्तीवीर जन्माउँने
मातृसपना कसरी पुरा हुने?
रगतको हिँड्ने गोडा पनि हुँदैनन्
खुट्टाका हड्डी, नसा र मांसपेसीहरूमा
मनग्गे रगत नपुगे, पाइलाहरू मर्लान्
त्यसपछि, साश्वत परिवर्तनको क्षितिजतिर
इन्क्लाबी जुलुसमा कुन कदमहरू बढ्ने?
No comments:
Post a Comment