Sunday, October 28, 2018

७० कथा जुजु माईलाको


जुजु माईलो मुल्याहा जन्म्यो, र
पिताश्रीभन्दा पहिले श्रीपेच ओढ्यो
राजगद्धीमै खेल्यो रमायो सुत्यो

जुजु माईलो मुल्याहा जवान भयो, र
तीन शहरमा मुल्यवान मूर्ति र राम्री केटीको
दरावरीया खोपीमा हुल्यो जवानी लुट्यो

जुजु माईला मुल्याहा व्यापारी बन्यो, र
लगानी बिनै अनेक धन्दाहरूले
मालिक-नाफाखोर बनेर बैभव कमायो

जुजु माईला मुल्याहाको दुष्ट मन जाग्यो, र
आफ्नो ठुल्दाईका सन्तानको कोत पर्व रचेर
श्रीपेच ओढेर राजदण्ड फेरि समायो

जुजु माईला मुल्याहा कालो चस्मा, र
छत्रे टोपीमा गाउँ-शहरतिर फूलमाला
सलाम-ढोग-दण्डवत थाप्दै डुल्यो

जुजु माईला मुल्याहाले भारदारी मण्डल, र
रावण पुत्रलाई युवराज घोषित गर्दै
मुलुकलाई पुन: कैदी  शासनमा हुल्यो

जुजु माईला मुल्याहाको खटनपटन, र
अचाढु थिचोमिचो अतिचार, खप्न नसकेर
गाउँ-टोल-शहरमा ईन्क्लावी जनता जाग्यो

जुजु माईला मुल्याहाका खुँखार बन्दुकले घेरेको
सामन्ती राजसी किल्ला जनसागरले घेरेपछि
श्रीपेच फालिराखेर नांगो शिर दर्वारबाट भाग्यो

जुजु माईला मुल्याहा अचेल, ह्वीस्की खाँदै
कम्प्युटरमा तासको जोखाना हेर्दै
तासकै ‘सत्ता’ पल्टाउँने खेल खेलिरहेछ

मुल्याहा माईलाको भूमिकामा नयाँ बुख्याँचा जुजु पनि
नाटकमा कसैले लेखेको स्क्रिप्ट कण्ठस्त गरी
दर्शकलाई उटपट्यांग ‘डाइलग’ बोलिरहेछ

जुजु माईलालाई ठकुरी माईलो अचेल भन्छन्, जनता
दरबारको सिंह, हेर्दाहेर्दै छुचुन्द्रो बनेको ठान्छन्
कुबुध्दिले राजपाठ गुमेको जिउँदो प्रमाण देखिरहेछन्
नयाँ जुजुहरू उम्रिँदै तीनपाते भएर बौलाईसके
जुजु माईला मुल्याहालाई गद्दीबाट लखेट्ने नजता, नयाँ
जुजु बुख्याँचाका काला कर्तुतको एकएक हिसाब लेखिरहेछन् ।
------ ------ -------
जुजु; नेवारी भाषामा जुजु भनेको १। ‘राजा’,र २। आफ्नो सानो छोरालाई लाड-प्यारमा भनिने ‘राजा’ पनि हुन्छ ।

(23 October 2018, Sangkhamul, Kathmandu)

No comments:

Post a Comment