Monday, January 16, 2017

५७ माया-मुन्धुम (विक्रम सुब्बा)

यो बुझ्नै कठीन ब्रम्हाण्ड-सेरोफेरोमा
हिजो जहाँ-जे-जे भयो ठिकै भएछ 
किनभने, हिजो पनि
अन्तरिक्षमा मेघ-माया बनेर, तिमीले
मेरो तन्तु-तन्तुमा प्रणय-पृत बर्सायौ,
र त तिम्रो न्यानो छातीको देउरालीदेखि
मेरो निँधारको तकदीरसम्म
उमंगका रंगीन ईन्द्रेणी टाँगेको हुँ

मायाले मात्र सबथोक जित्ने यो संसारमा
आज जहाँ-जे-जे हुँदैछ ठिकै भइरहेछ
किनभने, आज पनि
तिम्रो मायाका कंचन आत्मालाई
अंगालोको आत्मीय प्यालामा भरेर, मेरो
प्यासी हृदयको अधरले पिएपछि
पवित्र प्रेम-नशाले रमरम मातेको हुँ

भोगेरै मात्र बुझिने यो जिन्दगानीमा
भोलि जहाँ-जे-जे भएपनि ठिकै हुनेछ
किनभने, भोलि पनि  
तिम्रो र मेरो जोर मुटुकै पखेटा जडेर
आफ्नै माया-लोकबाट बैकुण्ठ-लोकतिर
बिन्दास उडानको कसम तर्जुमा गरेको हुँ

मातृ-रक्तकुण्डबाट नाइटो काटेपछि
आमाको न्यानो बात्सल्यमा हुर्केपछि
उमेरमा यौवनको मनसुन पसेपछि,
ढल्दो उमेरको बगैँचामा हराएको बेला
तिम्रो मायाको झरीमा बेस्सरी रुझेपछि
पत्तैबिना पागल-प्रेम-ज्वरोले कामेको हुँ
हाम्रै प्रेम-पिरतीको ढोल-ढ्याङ्ग्रो बजेपछि
नाच्दै-गाउँदै-बर्बराउँदै संसार बिर्सेर झुमेको हुँ

लिम्बुवानको रैथाने सिकुवामा आमाको गर्भबाट
रित्तो हत्केला फैलाएर उत्रेको हुँ, तर
भाँडाकुटी र डण्डीबियो खेल्दा खेल्दै
जन्मभूमिको गाउँ-बेँशी-धारा-पँधेरासँगै
देउराली-कुइनेटा-खोला-खोल्सी र फलैँचासँगै
गोदावरी जंगल र मंगल-बजारमा पुगेपछि, अनि
बेस्सरी तिमीलाई जितेपछि, खुशीयालीको
महाउत्सबमा तिम्रो अंगालोमै जाग्राम बसेको हुँ

तिमी यही धर्तीमा जन्मिने थाहा पाएर नै
हजार-स्वर्ग त्यागेर मर्त्यलोकमा जन्म लिएको हुँ
तिम्रा सुन्दर-सजीव नयनहरूले सिंगारेर, यहीँ
मायाको बेज्जोड-सानो शंखमुल-दरवार रचेको हुँ
जहाँ तिम्रा लाख अप्सरा-रुप सजाएको हुँ,
हाम्रो मायालाई ताजा नित्य-अजम्बरी राख्न
यहीँ ओछ्यानमा प्राङगारिक स्वर्ग रचेको हुँ

मरेर जाँदा यही गाउँ-घर-मानिसका
सम्झना-रुमालमा सिरिखुरी छोडेर
सतप्रतिशत रित्तो हात म जाने हुँ
तर मेरो मलिलो मुटुभरि फैलिएका
तिम्रो मायाका सहस्र जराबाट
आत्मा भई टुसाईरहने संकल्प गरेको हुँ

हरेक दिन तिम्रै मायाको अक्सिजनले
मेरो सासको दियो बालेर उज्यालो छरेको हुँ
तिमी रमाएको क्षण म धनवान भएको हुँ
तिम्रो मुख अँध्यारो हुँदा म कंगाल भएको हुँ
तिमी रिसाउँदा मैले चट्याङ-प्रहार खपेको हुँ
तिमी मुस्कुराउँदा खुशीको आकासगंगामा नुहाएको हुँ
आत्मा त कहिल्यै नमर्ने बिउ हो भन्छन् रानी !
जुनीजुनी हामी नै एकार्का निम्ती
गेणेशमन्दिर र बगलामुखी सेरोफेरोतिर कतै जन्म लिने
कसम तिम्रो चुम्बनमै घोलेर खाएको हुँ, र यहाँ
त्यही बोल-कबोल-बाचाको चार किल्ला बाँधेर
हाम्रो साक्खै मायामुन्धुम-मन्त्र गाएको हुँ,
मेरो रगतको नसानसामा छल्किरहने
मेरी हजुर्नी कान्छी ! तिमी
हामीलाई हमेसा जवान राख्ने, ओखती
हाम्रो रोमान्स जिन्दावाद !

No comments:

Post a Comment