Sunday, January 1, 2017

५५ कबुल-मुन्धुम (विक्रम सुब्बा)

आमाले रोजेको होइन,
गर्भमा आएपछि , आमाको
ममताले मन्जुर भएको हुँ ।

रोजेको होइन आमा-बा मैले
उनकै रक्त-जीव भै जन्मेपछि
सभ्यताको एक हिस्सा बनेको हुँ ।

यो जमिन रोजेको होइन
यही  माटोमा हुर्के-बढेपछि, मैले
मुलुकलाई धडकनमा गाँसेको हुँ ।

रोजेको होइन नाम, मेरो
आमाको ओँठबाट खस्दै गर्दा, थापेर
निशानी पहिचान बनाएको हुँ ।

दाजुभाइ, दिदीबहिनी, छिमेकी
कुनै पनि रोजेको होइन, मैले
गाँसी साइनो समाज बनाएको हुँ ।

मुटु, कलेजो, आँखा, नाकमुख, मैले
छालाको रंग पनि रोजेको होइन
‘म’मै फले-फुलेकोले स्वीकारेको हुँ ।

जाति-सँस्कृति मेरो भाषाभेष
छानेर मैले रोजेको होइन
पूर्खाले बुनेकै मुन्धुम पहिरेको हुँ ।

बाल्य काल, अल्लारे जवानी
तरुनी हेर्ने मन रोजेको होइन, मैले
हर्मोनको चलखेलमा हारेको हुँ ।

गालामा चाउरी, थोते बोली, रोजेको
होइन परलोक पनि, आफ्नै कविताको
अन्तिम हरफ पढी विदा कबुल गरेको हुँ ।
(January 1, 2017)

1 comment:

  1. कबुल मुन्धुम कविता विचारको कबुल, भोगाइको कबुल, दर्शनको कबुल हो कि ?

    ReplyDelete