Saturday, January 21, 2017

५८ मुन्धुमको ‘म’ भेटिन्न कतै! (विक्रम सुब्बा)

‘मेरा’ पाइताला हिँडिरहेछन् तिमीलाई खोज्दै
उक्लिरहेछन् उकालीमा पनि ‘मेरा’ कदमहरू
डाँडा-पर्वत-चुचुरा चढिरहेछन्, अनेक
आन्दोलनमा हिनिरहेछन् ‘मेरा’ खुट्टाहरू, तर
यो ‘मेरा मेरा’ भन्ने मुन्धुमको ‘म’ भेटिन्न कतै !  

‘मेरा’ हात लेखिरहेछन् तिम्रो मायाका कविता
‘मेरा’ हात बजाइरहेछन् बाजा युद्धघोषका
उठिरहेछन् ‘मेरा’ हात मुट्ठी बनेर ईन्क्लाबका
उचालिरहेछन् विद्रोही झण्डा ‘मेरा’ हातले, तर
यो ‘मेरा मेरा’ भन्ने मुन्धुमको ‘म’ भेटिन्न कतै!

‘मेरो’ मन दंग पर्छ रोमान्चित मिलन सम्झेर
प्रफुल्ल हुन्छ ‘मेरो’ मन क्रान्ति-भावना उरालेर
भावुक हुन्छ मन ‘मेरो’ मुलुकको हालत सम्झेर
धुरुधुरु रुन्छ मन सम्झेर शहिदहरूको रगत, तर
यो ‘मेरो मेरो’ भन्ने मुन्धुमको ‘म’ देखिन्न कतै!

‘मेरा’ ओँठले चुमिरहेछन् तिम्रो निँधार र आँखाहरू
मुखले ‘मेरो’ भनिरहेछ हाम्रै मायाको मुन्दुम-कहानी
‘मेरो’ जिब्रोले चाखिरहेछ प्रणय-पृतांगका स्वाद
‘मेरो’ स्वर गाईरहेछ तिम्रो सौन्दर्यको सर्वाङ्गी गीत, तर
यो ‘मेरा मेरो’ भन्ने मुन्धुमको ‘म’ देखिन्न कतै!

‘मेरा’ आँखा लालायित छन् तिमी आउँने बाटो हेर्न
हेरिरहेछन् चण्डालका नृत्य पनि यिनै आँखाले
देखिरहेछन् ‘मेरा’ आँखाले गुण्डाराजको शासन
रोईरहेछन् ‘मेरा’ आँखा सिमाना मिचेको देखेर, तर
यो ‘मेरा मेरा’ भन्ने मुन्धुमको ‘म’ भेटिन्न कतै!

‘मेरो’ दिमाग सोचिरहेछ मायाको अजम्बरी कथा
रचिरहेछ मस्तिष्क ‘मेरो’ पुनरमिलनका उपायहरू
दिमागले ‘मेरो’ खिचिरहेछ तिम्रै तिलस्मी तस्विर
बसेकोछ ‘मेरो’ दिमागमा तिम्रै अंगका मानचित्र, तर
यो ‘मेरो मेरो’ भन्ने मुन्धुमको ‘म’ देखिन्न कतै!

‘मेरा’ मित्रहरू, आफन्तहरू, मायालुहरू
बितेका दिनहरू, भोगेका दुःखहरू ‘मेरा’
देखेका सपनाहरू, तिमीसँग घुमेका क्षणहरू
सँगै बसेर गरेका गफहरू, सुम्सुम्याएका स्पर्सहरू
सबै ‘मेरा’ अमुल्य वैभव-सम्पतीहरू, तिमी सर्वश्व मेरो,  तर 

यो ‘मेरा मेरा’ भन्ने मुन्धुमको ‘म’ भेटिन्न कतै!

No comments:

Post a Comment