Sunday, July 9, 2017

६३ विस्तारै ! विस्तारै !!




न्यानो गर्भ आमाको पनि छुट्ने रहेछ विस्तारै
ममता-काख र कोक्रो पनि छुट्ने रहेछ विस्तारै
काँचो-सुनको बालापन पनि छुट्ने रहेछ विस्तारै
उम्लेको जवानी पनि कतै छुट्ने रहेछ विस्तारै
निरन्तर नित्य सबै फेरिन्छ विस्तारै ! विस्तारै !!

जसलाई पनि मायाले जितिने रहेछ विस्तारै
रिसराग आवेशले आफै हारिने रहेछ विस्तारै
राजाको शासन पनि त ढल्दो रहेछ विस्तारै
एक्लो ध्यानी वुद्ध त फैलिने रहेछ विस्तारै
निरन्तर नित्य सबै फेरिन्छ विस्तारै ! विस्तारै !!

भर्भराउँदो सफलता पनि छुट्ने रहेछ विस्तारै
अनेक प्रेम-बन्धन पनि छुट्ने रहेछ विस्तारै
लोभ-लालच-घमण्ड पनि छुट्ने रहेछ विस्तारै
शाखासन्तानकै स्नेह पनि छुट्ने रहेछ विस्तारै
निरन्तर नित्य सबै फेरिन्छ विस्तारै ! विस्तारै !!

मान-सम्मान प्रशंसा सबै छुट्ने रहेछ विस्तारै
जगको जन्जाल जिन्दगी छुट्ने रहेछ विस्तारै
आत्मै बाँध्ने पिरती पनि छुट्ने रहेछ विस्तारै
दौलत-शक्ती-घमण्ड पनि छुट्ने रहेछ विस्तारै
निरन्तर नित्य सबै फेरिन्छ विस्तारै ! विस्तारै !!

आफ्नै ज्यानको माया त छुट्ने रहेछ विस्तारै
धडकनबाट प्राण समेत छुट्ने रहेछ विस्तारै
परमाणुमै मिलेर अस्तित्व छुट्ने रहेछ विस्तारै
सुन्यमै म पनि छुट्ने रहेछु विस्तारै! विस्तारै!!
मरेपछि त फेरिन्छ सबथोक विस्तारै! विस्तारै!!

No comments:

Post a Comment